६ कार्तिक २०८३, शुक्रबार

रविले बालेनलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र साहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । 

सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री साहलाई विस्थापित गर्नेगरी षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ ।

आज (शुक्रबार) रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र छिट्टै त्यो जनताले थाहा पाउने बताएका हुन् ।

रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री साहलाई असफल बनाउनेगरी मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको दाबी छ ।

उनले सभापति लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पूनः धार्मिक यात्राको लागि भारत निस्किएको प्रसंगलाई पनि शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरे ।

अर्थमन्त्री वाग्ले समेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको कोर टिमको तारन्तारको भारत भ्रमणलाई सामान्य रुपमा हेरिन नहुने उनको भनाई छ ।

पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री साहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेकोले त्यसप्रति सजग हुन सुझाव दिएका छन् । रास्वपाको पार्टी पङ्क्ति अहिले चुनावमुखी मात्रै भएको र देशको बारेमा उनीहरुलाई कुनै चिन्ता नभएको पनि उनको आरोप छ ।

आजपा अध्यक्ष साहले भने, ‘घण्टीहरुलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरुलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरुबाट सचेत हुनुपर्छ ।’

रास्वपामा लामिछाने समर्थित घण्टी कार्यकर्ताहरु उग्र रहेको र सामाजिक सञ्जाल नै दुषित बनाएको साहको टिप्पणी छ ।

साहका अनुसार घण्टीका कार्यकर्ताहरुलाई सामाजिक सम्बन्धको महत्व थाहा नभएकोले सञ्जालमा फोहोरी गालीगलौज गर्ने गरेका छन् ।