२९ आश्विन २०८३, बिहिबार

डोल्पामा पन्ध्र वर्षदेखि भारी बोकेर गुजारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolpa_district_mapडोल्पा, ३ असार । विगत पन्ध्र वर्षदेखि भारी बोकेर बिहान बेलुकीको गुजारा टार्दै आएकी ६५ वर्षीया धनिशा वलीको अझै थाप्लोमा नाम्लो र पिठ्यूँमा भारी छुटेको छैन ।

रुकुम जिल्ला सक्ला गाविस वडा नम्बर २ कि धनिशा श्रीमानको निधनपछि बालबच्चालाई पढाउन लेखाउन र परिवारमा बिहान बेलुकीको छाक टार्नसमेत कठिन भएपछि डोल्पामा कमाइ धेरै हुन्छ भन्ने सुनेर आफू २०५५ सालमा डोल्पा आएको उनले बताइन् ।

तीन छोरी र एक छोरा कि आमा उनी अहिले जुफाल विमानस्थलदेखि सदरमुकाम दुनैसम्म सामान ओसारपसार गर्ने गर्छिन् । बिहान भालेको डाकोसँगै हतारले जुफाल विमानस्थल पुग्ने उनी कहिलेकाहीँ भारी नपाउँदा दुःखी हुने बताउँछिन् ।

अहिले सदरमुकाम दुनैदेखि जुफाल विमानस्थलैसम्म चलेका दुई वटा ट्याक्टर र चार वटा जिपले नै सामान ओसारपसार गर्ने भएकाले भारी पाउन गाह्रो हुन थालेको उनी बताउँछिन् ।

दसैँ तिहारलगायतका मुख्य चाडपर्वमा समेत आफू अहिलेसम्म घर नगएको उनले बताइन् । पन्ध्र वर्षपछि आगामी दसैँमा भने घर जाने सुरमा उनी छिन् । सुरुमा प्रतिकिलो ६ मा भारी बोक्दैआएकी उनी अहिले ज्याला बढेर १२ पुगेको बताउँछिन् ।

अहिलेसम्म भारी बोकेरै आठ लाखसम्म कमाइ गरेको र सो रकम सबैै घरमा बालबच्चाको पढाइ लेखाइमा खर्च गरेको उनले बताइन् ।