–हेमन्त केसी
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा क्षेत्रफलका हिसाबले मात्र ठूलो होइन, प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक सम्पदाका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण जिल्ला हो । हिमाल, उच्च पहाडी भूभाग, गहिरा खोँच, नदी, ताल, झरना, प्राचीन गुम्बा, मौलिक संस्कृति र दुर्लभ वन्यजन्तुले डोल्पालाई नेपालको विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाएका छन् ।
दक्षिणतर्फ धौलागिरि हिमश्रृङखला, पश्चिममा सिस्ने र कान्जिरोवा हिमाल तथा उत्तरमा तिब्बती पठारले घेरिएको यो जिल्ला भौगोलिक रूपमा कठिन भए पनि पर्यटन र जलविद्युत्का हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र हो ।
यहाँको प्राकृतिक सुन्दरता र सांस्कृतिक मौलिकताले विश्वका पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ । तर सडक, सञ्चार, विद्युत्, स्वास्थ्य, आवास, विमानस्थल, पदमार्गलगायत पर्यटन पूर्वाधार कमजोर हुँदा उपलब्ध सम्भावनाको तुलनामा लाभ लिन सकिएको छैन । डोल्पाको हावापानी तीन भागमा विभाजन भएको छ ।
प्रकृति र संस्कृतिको संगम
जिल्लाको पर्यटनलाई एउटै क्षेत्रमा सीमित गरेर हेर्न सकिँदैन । तल्लोदेखि उपल्लो डोल्पासम्म फरक–फरक भूगोल, संस्कृति र प्राकृतिक आकर्षण रहेका छन् ।
फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, शे गुम्बा, धो तराप, छार्का भोट, साल्दाङ, तिन्जे, रिङ्मो, सुलीगाड झरना (फोक्सुण्डो झरना), जगदुल्ला क्षेत्रमा रहेका जगदुलला ताल, प्रेम ताल र राक्षस ताल पनि उत्तिकै महत्वपूर्ण रहेका छन् । सदरमुकाम दुनैबाट कागबेनी हुँदै उपल्लो डोल्पा जोडिने पदमार्ग तथा विभिन्न उच्च हिमाली भञ्ज्याङ डोल्पाका प्रमुख पर्यटकीय सम्पदा हुन् ।
तालैतालको भण्डार उपल्लो डोल्पा
डोल्पाको पर्यटन भन्नासाथ सबैभन्दा पहिले सम्झिने नाम हो–फोक्सुण्डो ताल । समुद्री सतहबाट करिब ३,६३९ मिटरको उचाइमा रहेको यो ताल गहिरो नीलो पानी, वरिपरिका चट्टानी पहाड र हिमाली भू–दृश्यका कारण विश्वकै आकर्षक उच्च हिमाली तालमध्ये एकका रूपमा परिचित छ ।
तालसँगै रहेको रिङ्मो गाउँ, प्राचीन गुम्बा र सुलीगाड झरनाले (फोक्सुण्डो झरना) यस क्षेत्रलाई थप आकर्षक बनाएका छन् । फोक्सुण्डो ताललाई केन्द्र बनाएर पदयात्रा, प्रकृति अवलोकन, फोटोग्राफी, धार्मिक पर्यटन र साहसिक पर्यटनको विस्तार गर्न सकिन्छ । छार्का ताङसोङ गाउँपालिकामा वाङवुर (पङभोर) ताल, सेरतो ताल, याक ताल, चाक्चु ताल, छार्का किरफुक ताल, छार्का ताङसोङ–१ स्थित छार्कभोटमा स्थानीय युवाहरूले पहिचान गरेको पङभोर ताल रहेका छन् ।
त्यस्तै, डोल्पोबुद्धमा कुन्ख्येन फालक ताल—डोल्पोबुद्ध–६, फालगाउँको हिमाली क्षेत्रमा स्थानीयले पहिचान गरेको ताल हो । छार्का ताङसोङका वाङवुर/पङभोर, सेरतो, याक, चाक्चु, छार्का किरफुक तथा डोल्पोबुद्धको कुन्ख्येन फालक प्रमुख देखिन्छन्।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
डोल्पाको अर्को ठूलो सम्पदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । उच्च हिमाली जैविक विविधताले भरिएको यस क्षेत्रमा हिमचितुवा, नाउर, कस्तुरी मृग, खैरो ब्वाँसो, हिमाली थार, हिमाली कालो भालु लगायत वन्यजन्तु पाइन्छन् । सबैभन्दा बढी हिउ चितुवा पाइने क्षेत्रका रुपमा समेत यसलाई लिइन्छ ।
निकुञ्ज क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गी, पुतली तथा वनस्पति पाइने भएकाले वन्यजन्तु तथा प्रकृति पर्यटनको ठूलो सम्भावना छ । विशेषगरी हिमचितुवा अवलोकन, अनुसन्धान पर्यटन र जैविक विविधता अध्ययनका लागि डोल्पालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिन्छ ।
उपल्लो डोल्पाको मौलिक संसार
डोल्पाको पर्यटनमा उपल्लो डोल्पाको योगदान विशेष छ । तीन हजार छ सय मिटरभन्दा माथिको उचाइमा रहेका छार्का, धो, तिन्जे, साल्दाङ, डोल्पो बुद्धलगायत क्षेत्रले नेपालको अन्य भू–भागभन्दा बिल्कुलै फरक अनुभव प्रदान गर्छन् ।
११ औँ शताब्दीमा स्थापना भएको शे गुम्बा उपल्लो डोल्पाको धार्मिक तथा सांस्कृतिक केन्द्र हो । ११ वर्षमा एक पटक लाग्ने शे मेलाले यहाँको मौलिक धार्मिक परम्परा र सांस्कृतिक जीवनलाई विश्वसामु चिनाउने अवसर प्रदान गरेको छ ।
धो तराप, छार्का भोट र साल्दाङका बस्तीहरू उच्च हिमाली जीवनशैली, मौलिक वास्तुकला, परम्परागत वेशभूषा, खानपान तथा धार्मिक संस्कृतिका जीवित संग्रहालयजस्ता छन् ।
सन् १९९९ मा फ्रान्सेली चलचित्रकर्मी एरिक भ्यालीद्वारा निर्देशित तथा ओस्कारमा मनोनित चलचित्र ‘हिमालय क्याराभान’ले उपल्लो डोल्पाको जीवन, संस्कृति र प्राकृतिक अवस्थालाई विश्वसामु पुर्यायो । यसले डोल्पाको अन्तर्राष्ट्रिय पर्यटन पहिचान निर्माणमा महत्वपूर्ण योगदान गरेको छ ।
प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, जैविक विविधता र साहसिक पर्यटनका दृष्टिले डोल्पा नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । दुर्गम हिमाली भूगोलमा फैलिएको डोल्पामा हिमालदेखि ताल, वन्यजन्तुदेखि प्राचीन संस्कृति र स्थानीय जीवनशैलीसम्मका अनेकौं आकर्षण रहेका छन् ।
डोल्पा पुग्ने पर्यटकले यहाँका अग्ला पहाड, कन्दरा, खोला–नाला, वन–जंगल, हिमाली बस्ती तथा स्थानीय समुदायको जीवनशैलीलाई प्रत्यक्ष अनुभव गर्न सक्छन् । प्रकृतिसँगै यहाँको इतिहास, भाषा, धर्म, कला, संस्कृति र परम्पराले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
डोल्पाबाट धौलागिरि हिमाल, सिस्ने हिमाल, अपि हिमाल, साइपाल हिमाल, काँडे हिमचुली लगायतका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । उत्तरी क्षेत्रमा तिब्बततर्फ फैलिएका हिमाली भू–दृश्यले डोल्पाको प्राकृतिक आकर्षणलाई थप बढाएको छ ।
डोल्पाको अर्को महत्वपूर्ण विशेषता यसको जैविक विविधता हो । बोन धर्म, प्राचीन हिमाली गाउँ, विभिन्न जातजातिको मौलिक संस्कृति तथा परम्पराले डोल्पालाई अन्य पर्यटकीय क्षेत्रभन्दा फरक पहिचान दिएको छ । साहसिक पदयात्राका लागि समेत डोल्पा उपयुक्त गन्तव्य मानिन्छ ।
वन्यजन्तु संरक्षणमा स्थानीय समुदाय, राष्ट्रिय निकुञ्ज र विभिन्न संघसंस्थाबीचको सहकार्यले पनि महत्वपूर्ण भूमिका खेलेको छ । पर्यटकले यहाँ वन्यजन्तुको बासस्थान तथा संरक्षणका प्रयासबारे प्रत्यक्ष जानकारी लिन सक्ने अवसर पाउँछन् ।
डोल्पाको मौलिक संस्कृति पनि पर्यटकका लागि आकर्षणको अर्को महत्वपूर्ण पक्ष हो । मृत्यु संस्कार, बहुपति प्रथालगायतका विशिष्ट सामाजिक तथा सांस्कृतिक परम्परा यहाँको पहिचानसँग जोडिएका छन् । डोल्पो समुदायको भाषा, लिपि, कला, साहित्य, धार्मिक परम्परा र ऐतिहासिक सम्पदा हिमाली सभ्यताको महत्वपूर्ण हिस्सा मानिन्छ ।
त्यसैगरी, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, वनस्पति तथा वन्यजन्तु संरक्षणको अवस्था अध्ययन गर्न चाहने अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि पनि डोल्पा महत्वपूर्ण क्षेत्र बनेको छ ।
यहाँ पुग्ने पर्यटकले हिमाली प्रकृतिको प्रत्यक्ष अनुभूति मात्र होइन, हावा, पानी, माटो, घाम र स्थानीय जीवनशैलीसँग जोडिएको प्राकृतिक वातावरणलाई नजिकबाट अनुभव गर्न पाउँछन् । यही कारण डोल्पालाई साहसिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा अध्ययन पर्यटनको सम्भावना बोकेको बहुआयामिक गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय सरोकारवालाहरू बताउँछन् ।
पर्यटन पूर्वाधारको विकास, प्रचारप्रसार, स्थानीय उत्पादनको बजारीकरण र पर्यटकमैत्री सेवा विस्तार गर्न सके डोल्पाको पर्यटनले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्ने सम्भावना छ । दुर्गमतालाई चुनौतीका रूपमा मात्र नभई मौलिकता र प्राकृतिक सम्पदाको विशेषताका रूपमा उपयोग गर्न सके डोल्पा नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।
धार्मिक पर्यटनको ठूलो सम्भावना
डोल्पा बौद्ध, बोन तथा स्थानीय धार्मिक परम्पराको संगमस्थल हो । यहाँका गुम्बा, चैत्य, माने, धार्मिक स्थल तथा प्राचीन मूर्तिहरू धार्मिक तथा सांस्कृतिक पर्यटनका महत्वपूर्ण आधार हुन् ।
शे गुम्बा, त्शोवा गुम्बा, धो तराप तथा साल्दाङ क्षेत्रका धार्मिक सम्पदालाई संरक्षण गरी धार्मिक पर्यटनको विशेष सर्किट निर्माण गर्न सकिन्छ । धार्मिक पर्यटकका लागि केवल गुम्बा देखाउने मात्र नभई स्थानीय धार्मिक संस्कार, पर्व, पूजा, कला, संगीत, वास्तुकला र मौलिक जीवनशैलीलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ । डोल्पा जडीबुटीका दृष्टिले पनि धनी जिल्ला हो ।
यार्सागुम्बा, जटामसी, पाँचऔँले, पदमचाल, चिराइतो, कटुकी, सुगन्धवाल, हिमाली लसुन तथा विभिन्न प्रजातिका च्याउ यहाँ पाइन्छन् । यार्सागुम्बा स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। तर यसको अनियन्त्रित संकलन र वातावरणीय परिवर्तनका कारण दीर्घकालीन संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।
जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र बेच्नुको सट्टा स्थानीय स्तरमै प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्न सके स्थानीय समुदायले बढी लाभ लिन सक्छन् । यससँगै जडीबुटी अध्ययन, अनुसन्धान तथा जैविक पर्यटनलाई पनि जोड्न सकिन्छ ।
यहाँको परम्परागत अर्थतन्त्र पशुपालनसँग गहिरो रूपमा जोडिएको छ । याक, चौँरी, भेडा, च्याङ्ग्रा, घोडा तथा खच्चड स्थानीय जीवनका महत्वपूर्ण आधार हुन् । याकको दूधबाट छुर्पी, घिउलगायत सामग्री उत्पादन गर्न सकिन्छ ।
भेडाको ऊनबाट बख्खु, दोचा, कम्बललगायत मौलिक सामग्री उत्पादन हुने गरेको छ । यस्ता स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर ‘डोल्पो ब्रान्ड’ निर्माण गर्न सकिन्छ ।
पर्यटकलाई स्थानीय खानपान, ऊनबाट बनेका सामग्री, हस्तकला, मौलिक पोशाक र स्थानीय कृषि उत्पादन बिक्री गर्ने व्यवस्था मिलाउन सके पर्यटनको लाभ गाउँसम्म पुर्याउन सकिन्छ ।
जलस्रोतमा धनी डोल्पा
डोल्पाको पर्यटनसँगै जलविद्युत्को सम्भावना पनि उत्तिकै महत्वपूर्ण छ । ठूलीभेरी, भेरी, जगदुल्ला, सुलीगाड, ताराप खोला तथा अन्य हिमाली नदी र खोलाले डोल्पालाई जलस्रोतको दृष्टिले समृद्ध बनाएका छन् । जगदुल्ला जलविद्युत आयोजना निर्माण चरणमै गएको छ ।
उच्च हिमाली भूगोल, तीव्र बहाव र वर्षभरि पानीको उपलब्धताले डोल्पाका नदी तथा खोलामा जलविद्युत् उत्पादनको सम्भावना देखिन्छ । तर भौगोलिक कठिनाइ, कमजोर सडक तथा प्रसारण पूर्वाधार, लगानीको अभाव र आयोजना निर्माणको उच्च लागतका कारण जलविद्युत्को सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।
जलविद्युत् विकास डोल्पाको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बन्न सक्छ । स्थानीय नदीमा उत्पादन हुने विद्युतले जिल्लाको घरेलु तथा औद्योगिक आवश्यकता पूरा गर्नुका साथै भविष्यमा अतिरिक्त विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर आम्दानीको स्रोत बनाउन सक्छ ।
जगदुल्ला र ठूलीभेरीको सम्भावना
डोल्पाका जगदुल्ला र ठूलीभेरीलगायत नदी तथा खोलामा जलविद्युत् विकासका लागि विभिन्न सम्भावना पहिचान भएका छन् । जगदुल्ला क्षेत्रको जलविद्युत् सम्भावनाले डोल्पाको ऊर्जा विकासमा विशेष महत्व राखेको छ ।
जलविद्युत् आयोजना निर्माण हुँदा त्यसको लाभ स्थानीय समुदायले पाउने सुनिश्चितता गर्न आवश्यक छ । स्थानीयलाई रोजगारी, शेयरमा सहभागिता, प्रभावित क्षेत्रको पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यमा लगानी र उत्पादनपछिको आम्दानीमा स्थानीय हिस्सेदारीको व्यवस्था गरिनुपर्छ ।
जलविद्युत् विकास गर्दा वातावरणीय प्रभावलाई भने बेवास्ता गर्न हुँदैन । हिमाली पारिस्थितिक प्रणाली अत्यन्त संवेदनशील भएकाले प्रत्येक आयोजना वातावरणीय अध्ययन, स्थानीय सहभागिता र दीर्घकालीन जोखिम मूल्याङ्कनका आधारमा निर्माण गर्नुपर्छ ।
बदलिनसक्छ जनजीवन
यहाँको पहुँच विस्तार हुनु भनेको केवल घरमा बत्ती बल्नु मात्र होइन, यसले शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, कृषि, उद्योग र रोजगारीको क्षेत्रमा परिवर्तन ल्याउन सक्छ ।
विद्युत् पुगेपछि विद्यालयमा कम्प्युटर तथा इन्टरनेटको प्रयोग बढाउन सकिन्छ । स्वास्थ्य संस्थामा आवश्यक उपकरण सञ्चालन गर्न सहज हुन्छ । स्थानीय उत्पादनको प्रशोधन तथा भण्डारण गर्न सकिन्छ । होटल, होमस्टे र पर्यटन व्यवसाय सञ्चालनमा पनि सहजता हुन्छ ।
सौर्य ऊर्जा, लघु जलविद्युत् तथा अन्य वैकल्पिक ऊर्जाको प्रयोगलाई पनि तत्कालका लागि विस्तार गर्न सकिन्छ । विशेषगरी राष्ट्रिय प्रसारण लाइन पुग्न लामो समय लाग्ने उच्च हिमाली बस्तीमा स्थानीय जलस्रोतमा आधारित लघु जलविद्युत् र सौर्य ऊर्जालाई प्राथमिकता दिन आवश्यक छ ।
विद्युत् र पर्यटनलाई सँगसँगै अघि बढाउन सके डोल्पामा नयाँ आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ ।
सडक र हवाई पूर्वाधार
डोल्पाको पर्यटन विकासमा सबैभन्दा ठूलो चुनौती यातायात पूर्वाधार हो । जिल्लाका धेरै क्षेत्रमा अझै सडक यातायात सहज छैन । उच्च हिमाली क्षेत्रमा सडक निर्माण आफैँमा जटिल र महँगो छ । तर सडक निर्माण गर्दा वातावरणीय पक्षलाई बेवास्ता गर्ने हो भने प्राकृतिक विपद्को जोखिम बढ्न सक्छ । त्यसैले वातावरणीय प्रभाव मूल्याङ्कन, भूगर्भीय अध्ययन र स्थानीय भौगोलिक अवस्थाको अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्छ ।
सडकसँगै पदमार्गलाई पनि पर्यटन पूर्वाधारका रूपमा विकास गर्न आवश्यक छ । डोल्पाको पर्यटन सडकमा मात्र आधारित हुन सक्दैन । यहाँको वास्तविक आकर्षण उच्च हिमाली पदयात्रा र मौलिक बस्ती भएकाले पुराना पदमार्ग संरक्षण तथा नयाँ पदमार्गको पहिचान आवश्यक छ ।
हवाई यातायात डोल्पाका लागि अर्को महत्वपूर्ण माध्यम हो । जुफाल विमानस्थललाई व्यवस्थित र सुरक्षित बनाउँदै पर्यटकीय मौसममा नियमित हवाई सेवा सञ्चालन गर्न सके पर्यटक आगमन बढाउन सकिन्छ । स्थानीय स्तरका अन्य सम्भावित विमानस्थल तथा हेलिप्याडलाई पनि आपत्कालीन उद्धार र पर्यटनसँग जोड्न सकिन्छ ।
मध्य डोल्पामा धार्मिक पर्यटन
मध्य डोल्पाको रहेको बाला त्रिपुरासुन्दरीको शक्तिपिठ सबै भन्दा महत्वपूर्ण मानिन्छ । भेरी करिडोरसँग जोडिएको उक्त मन्दिरमा शक्ति केन्द्रमा हुनेहरुको दर्शन गर्ने मुख्य ठाउँ रहदै आएको छ ।
त्यस्तै, अर्को महत्वपूर्ण धार्मिक शक्तिपिठ मध्यमा छलगाड मस्टलाई लिइन्छ । छलगाड लगायतका धार्मिक संस्थाले पर्यटनको विकास मात्र नभई स्थानीयबासीको न्याय सम्पादन समेत गर्दै आएका छन् । सरकारी कामकाजदेखि न्याय माग्न समेत यिनै शक्ति पिठमा मानिसहरु जाने गर्दछन् । भेरी करिडोर सडक खण्ड पूर्ण रुपमा निर्माण भएमा यहाँका धार्मिक तथा ऐतिहासिक संरचनाको गरिम अझ बढने देखिन्छ ।













प्रतिक्रिया