काठमाडौँ, ३ भदौ । प्रदेशको सङ्ख्या र सीमाङ्कनबारे थप छलफल गर्न चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगन गरिएको छ ।
आज बिहान १० बजे बसेको सो बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सङ्क्षिप्त प्रतिक्रिया दिँदै विशेष समितिमा छलफल जारी रहेको बताउनुभयो ।
संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिले आज विवादित विषयमा किनारा लगाउने गरी छलफल गरिरहेको बुझिएको छ ।
संविधानको परिमार्जित मस्यौदासहितको विधेयक तयारीका क्रममा मस्यौदा समितिलाई संविधानसभाले यही भदौ १ गते थप चार दिनको समय दिएको थियो । विभिन्न जिल्लामा उत्पन्न प्रतिक्रियालाई ध्यानमा राख्दै समितिको समयसीमा लम्ब्याइएको हो । रासस
















प्रतिक्रिया