काठमाडौँ, २ भदौ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पाँच विकास क्षेत्रलाई नै सङ्घीयताको सीमाङ्कन मान्ने भन्ने कुरा हास्यास्पद भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित २२ औं रामवृक्ष यादव स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “सङ्घीयतामा नेपाल देशबाहेक सबै खण्डित भएका छन् ।” जनताका माग जायज भएपनि त्यसलाई भड्काएर संविधान जारी हुन नदिने र प्रतिगमन फर्काउने प्रयत्न भइरहेको उहाँको कथन थियो ।
उहाँले नेपाली इतिहासमा जनताको सबैभन्दा ठूलो आन्दोलनको नेतृत्व गर्ने एमाओवादी पार्टीले अहिलेको आन्दोलनको पनि सम्मान गर्ने बताउनुभयो । नेता भट्टराईले विगतको संविधानसभाबाट संविधान जारी गर्न नसक्नु गल्ती भएको बताउँदै ‘बढी लिन खोज्दा पोल्टाको पनि गुमेको’ धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “त्यसकारण संविधानसभाबाट संविधान जारी गर्न अब ढिलाइ गर्नुहुन्न ।” रासस















प्रतिक्रिया