२८ आश्विन २०८३, बुधबार

देउवाले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन, सरकारलाई पुनर्स्थापनामा तदारुकता देखाउन आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले रसुवा र भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट क्षेत्रको बिहीबार अवलोकन गरेका छन् ।

बिहीबार देउवासँगै कांग्रेस नेता डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायत नेता तथा कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका थिए ।

अवलोकनका क्रममा देउवाले बाढीपहिरोबाट प्रभावित स्थानीयसँग भेट गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए । उनले प्रभावित क्षेत्रमा अझै पनि पर्याप्त सुविधा पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

देउवाले प्रभावित क्षेत्रमा सडक तथा यातायातको पहुँच नहुँदा स्थानीयले थप समस्या भोग्नुपरेको बताए । उनले रसुवा, नुवाकोट र धादिङमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत, पुनर्स्थापना र त्यसपछि पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले यहाँ गर्नुपर्ने कुरा के छ भने, रेस्क्यु, रिलिफ र रिह्याबिलिटेसन, रिकन्स्ट्रक्सनका चारवटा कुरा छन् । बाँचेका मान्छेहरू आएका छन्, देख्नुभएकै छ । धेरै मान्छेहरूको मृत्यु भएको छ । रिलिफको सम्बन्धमा जो अझै पनि राम्रोसँग खान पाएको छैन, बस्न पाएको छैन ।’

उनले प्रभावितहरूलाई खाने, बस्ने र न्यायोचित सुविधा उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको बताए । साथै, विस्थापितहरूलाई भोलि कहाँ राख्ने भन्ने विषयमा समेत सरकारले योजना बनाएर पुनर्स्थापनाको काम अघि बढाउनुपर्ने उनको भनाइ छ ।

बाढीपहिरोले तीन जिल्लामा मात्रै नभई अन्य क्षेत्रमा समेत प्रभाव पारेको भन्दै देउवाले इन्धनदेखि दैनिक उपभोग्य वस्तुसम्मको आपूर्तिमा समस्या देखिएको बताए । उनले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे ।

देउवाले जलवायु परिवर्तनका कारण नेपाल बाढीपहिरोजस्ता विपद्को उच्च जोखिममा रहेको पनि बताए । हिमालमा हिउँ घट्दै गएको र जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण आगामी दिनमा नेपालले थप चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ ।

उनले सरकारबाट प्रभावित क्षेत्रमा भइरहेको कामबारे बुझ्न आफूहरू आएको भन्दै आवश्यक काम नभए कांग्रेसले सरकारलाई दबाब दिने बताए ।

‘सरकारले के गरेको छ, के गरेको छैन भन्ने कुरा बुझ्न आएको हौँ । हामी आवाज उठाउँछौँ, बाहिर भन्छौँ, प्रेसमा उठाउँछौँ । सबै ठाउँमा आवाज उठाउनेछौँ,’ उनले भने ।

त्यस्तै, कांग्रेस नेता डा. प्रकाशशरण महतले बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा राज्य नै सक्रिय भएर काम गर्नुपर्ने बताए ।

उनले विपद्पछि तत्कालीन राहतसँगै अस्थायी आवास, दीर्घकालीन पुनर्स्थापना तथा पुल र सडकजस्ता भौतिक संरचनाको निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

महतले भने, ‘राहतसँगसँगै यो पुनर्स्थापना, अहिले टेम्पोररी सेल्टरहरु र लङटर्म पुनर्स्थापना, पुल निर्माणको काम अत्यन्त महत्त्वपूर्ण भएको छ ।’

उनले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकस्तरबाट ठूलो सहयोग भए पनि अबको पुनर्निर्माणको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । विशेषगरी यातायातको पहुँचबाट टाढा रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल अस्थायी संरचना तथा बेली ब्रिज निर्माण गर्न सरकारसँग माग गरे ।

महतले प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज बनाउन चाँडोभन्दा चाँडो अस्थायी संरचना निर्माण गर्नुपर्ने बताए । कांग्रेसले पनि प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा सरकारको ध्यानाकर्षण गराउने काम जारी राख्ने उनको भनाइ छ ।