१ कार्तिक २०८३, शनिबार

भोलि नागपञ्चमी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naag-Panchami-3काठमाडौँ, १ भदौ । श्रावण शुक्ल पञ्चमीका अवसरमा भोलि नापञ्चमी पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ ।

विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको जानकारी गराउँदै पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले नागपञ्चमीका दिन गरिने पूजाले सर्पादि भयबाट मुक्त भई र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको बताउनुभयो ।

नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् ।

एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो ।

अध्यक्ष गौतमका अनुसार नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार रहेका छन् ।

गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ ।

नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।

नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालस्थित नागदह, धापाखेलस्थित नागदहलगायत स्थानमा विशेष मेलासमेत लाग्ने गरेको अध्यक्ष गौतमले बताउनुभयो । रासस