त्रिशूली । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बाढीबाट प्रत्यक्ष प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द भएको छ भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रमा रहेका शैक्षिक संस्थाको पठनपाठन समेत स्थगित भएको छ ।
बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता भएको र विद्यालय भवन, सडक एवं पुलमा क्षति पुग्दा आवतजावत कठिन भएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि र नदी वारपार गर्न सहज भएपछि मात्र पठनपाठन पुनः सञ्चालन गरिनेछ ।
विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढीको पूर्वसूचना पाए पनि क्षतिको आकार अकल्पनीय भएको छ । ‘केही विद्यालयले उच्च सतर्कता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगियो,’ उनले भने, ‘अहिलेको असामान्य स्थितिमा तत्काल भौतिक उपस्थितिमा पढाइ सम्भव छैन । केही समयपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउने योजना बनाउँदैछौँ ।’
त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगर क्षेत्रका ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।















प्रतिक्रिया