१ कार्तिक २०८३, शनिबार

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । रसुवा जिल्लामा आएको बाढीमा परेका पीडितहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भनी ठाउँठाउँमा विभिन्न संघसंस्थाहरुद्वारा भइरहेको राहत संकलन कार्यमा सिरहा प्रशासनले रोक लगाएको छ ।

बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि भन्दै व्यक्तिगत, संघसंस्था वा समूहले स्वेच्छिक रूपमा राहत सामग्री संकलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै रोक लगाएको हो । राहतको संकलनको नाममा दुरुपयोग हुनसक्ने भएकाले यसलाई नियन्त्रण गर्ने उद्देश्यले रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रशासनले सूचना जारी गर्दै यही भदौ १० गते रसुवा जिल्लास्थित भेटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको जानकारी प्राप्त भएको जनाएको छ ।

प्रशासनले बाढीपीडितका नाममा राहत सामग्री संकलन गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । साथै, बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघसंस्था वा समूहले आफूसँग उपलब्ध गराउन सक्ने राहत सामग्रीको विवरण नजिकको इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय सिरहामामार्फत वा जानकारी गराई गर्न आग्रह गरिएको छ ।

प्रशासनका अनुसार राहत वितरणलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक समन्वयमार्फत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बाढीपीडितका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले प्रशासनसँग समन्वय गरेर मात्रै राहत सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

प्रशासनको सूचनाले बाढीपीडितको नाममा अनधिकृत रूपमा राहत संकलन हुने सम्भावना रोक्नुका साथै वास्तविक पीडितसम्म राहत सामग्री प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्य राखेको देखिन्छ ।