पोखरा । पोखराको बुद्ध विशाल बजारमा व्यवसाय गर्ने महिला व्यवसायीहरुको दिदीबहिनी समूहले यसवर्षको तीज पर्व मनाउन छुट्याएको रकम रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका छन् ।
दिदीबहिनी समूहले यो वर्ष तीज कार्यक्रमको आयोजना नगर्ने र सो कार्यक्रमको लागि छुट्याएको ५१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा लगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता बढिरहेको अवस्थामा आफ्नो पर्व मनाउने खर्चलाई आपत–विपद्मा परेका नागरिकको सहयोगमा समर्पित गर्ने निर्णय गरिएअनुसार उक्त रकम सहयोग गरिएको ए एन मोनालिसा सपिङ सेन्टरकी सञ्चालिका इन्द्रमाया गुरुङले बताइन् ।
दिदीबहिनी समूहले गरेको यस कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ ।
बाढी प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्दै दिदीबहिनी समूहले विपद्को यस घडीमा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेको छ ।















प्रतिक्रिया