काठमाडौं, २ असार । व्लड क्यान्सरबाट जीवनमरणको दोसाँधमा पुगेका खोटाङ बाम्राङका तोकबहादुर थापालाई दैनिक नेपाल डटकमले छ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको छ ।
दैनिक नेपालले सोमबार राजधानीमा औपचारिक कार्यक्रम गरी उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र दैनिक नेपाल डटकमका सम्पादक/संस्थापक गणेश पाण्डेले चेक रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका एमाले अध्यक्ष खनालले दैनिक नेपालको अभियानलाई मानवीय सेवाको उदाहरणीय कार्यको संज्ञा दिनुभयो । देशका प्रधानमन्त्री सुशील कोइराला समेत विरामी भएका बेला एकजना क्यान्सर पीडित बालकलाई सहयोग रकम जुटाउनु अनुकरणीय रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री कोइरालालाई भएको भनिएको फोक्सोको क्यान्सर असत्य होस् भन्ने कामना समेत गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल र वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले अनलाइन मिडियाले परोपकारी सुरु गर्नुलाई सकरात्मक रुपमा लिँदै दैनिक नेपालको अभियानको प्रशंसा गर्नुभयो ।
नेपाल पत्रकार महासचिव उजिर मगरले अनेक कष्ट सहेर पनि नेपाली पत्रकारहरु समाजप्रति समर्पित रहेको बताउनुभयो ।
मेगा बैंक नेपाल लिमिटेडका सिइओ अनिलकेशरी शाहले व्लड क्यान्सर पीडित बालक थापाको सहयोगार्थ मेगा बैंकमा खाता खोलिएको जानकारी गराउनुभयो । दैनिक नेपालको अभियानप्रति ऐक्यबद्धता जनाउँदै उहाँले सहयोगका लागि सबैसँग आग्रह पनि गर्नुभयो ।

एनआरएनका निवर्तमान महासचिव एवं सल्लाहकार तेन्जी शेर्पाले प्रवासमा रहे पनि प्रवासी नेपालीहरुको मन नेपालतिरै रहेको बताउनुभयो । व्लड क्यान्सर पीडित बालकको सहयोगका लागि अमेरिकामा रहेका नेपालीहरुले गरेको सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा व्लड क्यान्सर पीडित बालक तोकबहादुर थापाले आफूलाई पुर्नजीवन दिनका लागि अपिल गर्दा कार्यक्रममा उपस्थित केहीको आँखा रसाएका थिए । पुनर्जीवन दिन सहयोग गर्ने दैनिक नेपाल डटकम र अन्य सबैलाई थापाले आभार व्यक्त गरे ।

खोटाङ बाम्राङका थापाको काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनलाई यसअघि पनि दैनिक नेपालले १ लाख २३ हजार रुपैंया सहयोग हस्तान्तरण गरेको थियो ।
तोकबहादुरलाई ब्लड क्यान्सर भएर काठमाडौंको सिभिल अस्पतालमा छटपटाइरहेको समाचार दैनिक नेपाल डटकममा प्रकाशित भएपछि अमेरिकास्थित दैनिक नेपालका सहकर्मी विकासराज न्यौपानेले अभियान नै चलाउनुभएको थियो । लमजुङको दुराडाँडामा स्थायी घर भई बाबुको पालादेखि नै चितवन रत्ननगर ९ टाँडी झरेका न्यौपाने अमेरिकाको टेक्सासबाट संचालित नमस्ते युएस डटकमका प्रधान सम्पादक तथा नेपाल–अमेरिका पत्रकार संघका उपाध्यक्ष समेत हुन् ।
तोकबहादुरको समाचार पढेर दुखित बनेकी डालस टेक्सास निवासी अम्बिका राउत, योगेन्द्र राउत, युबिन राउत एकै परिवारले ५ हजार अमेरिकी डलर न्यौपाने मार्फत सहयोग उपलब्ध गराउनुभएको थियो । कहिल्यै नभेटे पनि थापाको कथाले आफ्नो मन दुखेको भन्दै अम्बिकाले सहयोग गनुृभएको हो ।

प्रमुख अतिथि खनाललाई गर्दै दैनिक नेपालका सम्पादक पाण्डे

कार्यक्रमका अतिथि

भलाकुसारी

मेगा बैंकका सिइओ अनिलकेशरी शाह

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ

आमन्त्रित सहभागी

आमन्त्रित सहभागी

व्लड क्यान्सर पीडित बालक हलमा प्रवेश गर्दै

दैनिक नेपालका सम्पाादक गणेश पाण्डे
छ लाख रुपैंयाको चेक हस्तान्तरण
कार्यक्रम संचालन गर्दै सहकर्मी मोहन बास्तोला
यो पढ्नुहोस:
दैनिक नेपालको अभियान सार्थक बन्दै, बाँच्न पाउने भए तोकबहादुर
भिडियो पनि हेर्नुहोस















प्रतिक्रिया