२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगिताअन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छनोट कार्य बुधबारदेखि सुरु भएको छ ।

नेपालको सबैभन्दा बढी उचाइमा रहेको सदरमुकाम सिमकोटमा कर्णाली प्रदेशका दशवटै जिल्लाका महिला भलिबल खेलाडी छनोट प्रतियोगितामा भाग लिन यहाँ पुगेका हुन् ।

आउँदो मंसिर १६ देखि २८ गतेसम्म सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनौट प्रतियोगिता आयोजना गरेको हो । जसअनुसार छनोट प्रतियोगिताअन्तर्गत दैलेखमा कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबुल टेनिस, रुकुम पश्चिममा कबड्डी, हुम्लामा महिला भलिबल र हक्की, जुम्लामा तेक्वान्दो, मुगुमा कबड्डी र कालिकोटमा पुरुष भलिबलका साथै बाँकी खेलका खेलाडी सुर्खेतबाट छनोट गरिने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिए ।

छनोट भएका खेलाडीलाई १० कात्तिकदेखि बन्द प्रशिक्षणमा राखिने भएको छ ।

हुम्लाको सदरमुकाममा भएको महिला भलिबलको उद्घाटन खेलमा जाजरकोटले मुगुलाई सोझो सेटमा हराएको थियो । भने यस्तै रुकुम पश्चिमले पनि हुम्लालाई सोझो सेटमा हराएको हो ।

त्यसैगरी, दैलेख र जुम्लाले एक—एक सेट जितेर प्रतिस्पर्धा गरे पनि अन्तमा दैलेखदेखि हार स्विकार्नु परेको थियो । बिहीबार बिहान पहिलो खेल डोल्पा र सन्यानक हुने भएको छ ।

महिला भलिबल खेल उद्घाटनमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले,खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

छनोटमा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशको गौरव बढाउने अपेक्षा गरिएको अध्यक्ष भण्डारीको भनाइ थियो ।