हेटौंडा । बागमती प्रदेशमा नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सरकार सञ्चालनका विषयमा ६ बुँदे लिखित समझदारी भएको छ।
मंगलबार भएको समझदारीअनुसार प्रदेशमा हाल कायम आठवटै मन्त्रालयलाई यथावत् राखिने र दलहरूको संसदीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिने भएको छ। प्रदेशसभामा रिक्त सभामुख पद नेकपाबाट चयन गर्ने सहमति पनि भएको छ।
सरकारको कामलाई व्यवस्थित गर्न तीनै दलको प्रतिनिधित्व रहने सात सदस्यीय न्यूनतम साझा कार्यक्रम समिति गठन गरिनेछ। समितिले सात दिनभित्र सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गर्नेछ।
यस्तै, सुरुमा नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने र मन्त्रिपरिषद्मा महिला सहभागितासहित समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने समझदारी भएको छ।
यसअघि एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापा मगर मुख्यमन्त्री नियुक्त भएका थिए। तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थनमा बनेको सरकारले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछ।














प्रतिक्रिया