२८ आश्विन २०८३, बुधबार

लागूऔषध दुर्व्यसनविरुद्धको ‘प्रथम बेल्टार रन’ उत्साहजनक रुपमा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । स्वस्थ जीवनशैलीको प्रवर्द्धन, नियमित शारीरिक व्यायामप्रति नागरिकलाई प्रोत्साहित गर्ने तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजना गरिएको ‘प्रथम बेल्टार रन’ उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ ।

बेल्टार बजारको बेलपार्कस्थित पुष्पलाल चोकबाट सुरु भएको दौडमा बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसम्म झन्डै ३ सयभन्दा बढी नागरिक सहभागी भएका थिए ।

सहभागीहरूले बेल्टार बजार तथा आसपासका को ग्रामीण क्षेत्र समेटिएको निर्धारित मार्ग हुँदै करिब ६.०५ किलोमिटर दूरी पार गरेका थिए । एउटै उद्देश्य र एउटै भावनाका साथ सहभागीहरू दौडिँदा बेल्टारको वातावरण समेत उत्साहपूर्ण बनेको थियो ।

दौडका क्रममा सहभागीहरूले स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न तथा युवापुस्तालाई लागूऔषध दुर्व्यसनबाट जोगाउनुपर्ने सन्देश दिएका थिए ।

आयोजक चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले बेल्टार रनलाई प्रतियोगिताभन्दा पनि सामाजिक जागरणको अभियानका रूपमा अघि बढाइएको बताए । उनका अनुसार खेलकुद, दौड र व्यायाममार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै दुर्व्यसनविरुद्धको वातावरण निर्माण गर्ने उद्देश्य रहेको छ ।

दौडमा सहभागीहरूका लागि एउटै प्रकारको पोसाकको व्यवस्था गरिएको थियो । एउटै रङको पोसाकमा सयौँ नागरिक एकैसाथ दौडिँदा एकता, समानता र सामूहिकताको भावना झल्किएको थियो । व्यक्तिगत हैसियत र आर्थिक अवस्थाभन्दा माथि उठेर सबैलाई एउटै अभियानमा जोड्ने उद्देश्यले पोसाकको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका सदस्य अनुपराज कार्कीका अनुसार बेल्टार रनलाई अब एकदिने कार्यक्रमका रूपमा सीमित गरिने छैन । उनका अनुसार हरेक दिन आफूले सकेसम्म दौडिने, हरेक हप्ता सम्भव भएसम्म सामूहिक रूपमा दौडिने र प्रत्येक महिनाको पहिलो शनिबार ‘बेल्टार रन’मा सहभागी भएर सामूहिक दौडमा जोडिने अभियान अघि बढाइनेछ ।

आगामी वर्ष भदौको पहिलो शनिबार अर्थात् वार्षिकोत्सवका अवसरमा भने बेल्टार रनलाई प्रतियोगितात्मक कार्यक्रमका रूपमा आयोजना गर्ने योजना रहेको कार्कीले बताए । साथै, प्रत्येक महिनाको पहिलो शनिबार नियमित रूपमा बेल्टार रनमा सहभागी हुनेहरूलाई आगामी वर्ष सम्मानपत्रद्वारा सम्मान गरिने उनले जानकारी दिए ।

बेल्टार रनमा देखिएको उल्लेख्य सहभागिताले स्वास्थ्य, खेलकुद र सामाजिक सचेतनाप्रति नागरिकको चासो बढ्दै गएको देखाएको छ । सहभागीहरूले युवालाई गलत संगत र दुर्व्यसनबाट जोगाउन परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रतियोगिता आयोजना कार्यक्रमका संयोजक अन्जनी अधिकारीले बेल्टार रनलाई स्वास्थ्य, खेलकुद, वातावरण र सामाजिक सचेतनासँग जोड्दै नियमित अभियानका रूपमा अघि बढाउने बताए । हरेक महिनाको पहिलो शनिबार चौदण्डीगढी साइकल सिटीको आयोजनामा बेल्टार रन सञ्चालन गरिने उनले जानकारी दिए ।

‘स्वास्थ्यका लागि दौड, स्वस्थ समाजका लागि अभियान’ भन्ने मूल भावनासहित सम्पन्न पहिलो बेल्टार रनले ६.०५ किलोमिटर दूरी मात्र पार गरेन, स्वस्थ जीवनशैली, सकारात्मक सोच र लागूऔषधविरुद्धको सामाजिक अभियानको सन्देश समेत फैलाएको छ । सहभागीहरूको उत्साहले बेल्टार रनलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी अभियानका रूपमा अघि बढाउने आधार तयार गरेको आयोजकको विश्वास छ ।