काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दिनदेखि धर्नामा रहेका मिटरब्याज, लघुवित्त तथा सहकारी पीडित, भूमिहीन सुकुम्बासी पीडितहरुलाई भेट्न पुल्चोक पुगेकी छन् ।
पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका पीडितहरूलाई पूर्वराष्ट्रपति भण्डारीले मंगलबार भेटेकी हुन् । उनले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।
पूर्वराष्ट्रपति भण्डारीले पीडितहरुको समस्या समाधान गर्न सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताइन् । पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भण्डारीले समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइन् ।
पीडितहरूले भोगिरहेका समस्याहरूको आफूले जानकारी लिएको र त्यसलाई गम्भीरतापूर्वक समाधान गरिनुपर्ने उनले बताइन् । उनले विगतको सरकारले गरेको सम्झौतालाई आधार बनाएर हालका समस्याहरूलाई जरैदेखि दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले सामाजिक न्यायका लागि भइरहेको आन्दोलन र यसलाई समर्थन गर्ने सबैप्रति ऐक्यबद्धता जनाइन् ।















प्रतिक्रिया