काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखेका हुन् ।
उनले पार्टीका कमजोरी सुधार गर्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दे जनताको भावना बुझेर पार्टी अघि बढ्न सके वर्तमान चुनौती सामना गर्न सकिने बताए । महासचिव पोखरेलले एमाले यथास्थितिमा चल्न नसक्ने भन्दै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको धारणा व्यक्त गरे ।
महासचिव पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको उल्लेख गरेका छन् । उनले नेपालमा कम्युनिस्ट आन्दोलनले लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व निर्माण गरेपनि पछिल्लो अवस्थालाई सामान्य रूपमा लिन नहुने बताए ।
उनले विशेषगरी जनमत किन वामपन्थी शक्तिबाट टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै वामपन्थी आन्दोलनको वर्तमान अवस्था सुधार्न विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले प्रमुख राजनीतिक दलहरूबीच एकता र सहकार्य कायम रहेको भए पछिल्ला राजनीतिक परिस्थिति यति धेरै भड्किन नसक्ने दाबी गरे । उनले वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्दै नयाँ आधार र नयाँ सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे ।















प्रतिक्रिया