काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निकट सांसद दीपक बोहोराका पछिल्ला सामाजिक सञ्जाल पोस्टहरुले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सरकारप्रति असन्तुष्टि बढ्दै गरेको प्रष्ट संकेत गरेको छ ।
शनिबार बोहोराले कालो चस्मा खोलेको तस्वीर राख्दै ‘मैले त कालो चस्मा खोलेँ है !’ लेखेका थिए ।
संसद्मा प्रधानमन्त्री साहको कालो चस्मालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला आएको बोहोराको उक्त पोस्टलाई सरकारप्रति कटाक्ष गरेको रुपमा हेरिएको छ ।
आइतबार साँझ बोहोराले फेरि बत्ती गएपछिको अँध्यारो सहरको भिडियो पोस्ट गर्दै ‘साँझको ७:३० बजे !! बत्ती गएपछिको अध्यारो सहर !!’ लेखे । पछिल्लो समय देशभर विद्युत् आपूर्तिको समस्याप्रति उनले कटाक्ष गरेका हुन् ।
रास्वपा नेता बोहोराले प्रत्यक्ष रूपमा सरकारको आलोचना नगरे पनि उनका पोस्टहरुले साह सरकारप्रति पार्टीभित्रै असन्तुष्टि बढिरहेको संकेत दिइरहेका छन् ।
यसअघि शुक्रबार संसद् बैठकमा सत्तारुढ रास्वपाकै सांसदहरूले सरकारका कामकारबाही र कार्यशैलीबारे प्रश्न उठाएपछि सोही रात फेसबुकमा लेख्दै प्रधानमन्त्री साहले आफू एक्लो भएको महसुस गरेको संकेत दिएका थिए ।
त्यसको भोलिपल्ट रास्वपा सांसद मनिष झाले सरकारमा कोही एक्लो नभएको भन्दै सुधार गर्नुपर्ने केही पक्ष रहेको टिप्पणी लेखेका थिए ।















प्रतिक्रिया