२८ आश्विन २०८३, बुधबार

संसदमा आफ्नै सांसदको प्रहार, राति प्रधानमन्त्रीको ‘एक्लै लड्नुपर्छ’ सन्देश : के हो यसको संकेत ?

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समाचार टिप्पणी

शुक्रबार प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू सरकारमाथि असामान्य रूपमा आक्रामक देखिए । अझ रोचक पक्ष के थियो भने सरकारको आलोचना प्रतिपक्षबाट मात्र होइन, आफ्नै पार्टीका सांसदबाट आयो । रमेश प्रसाईले सरकार जनअपेक्षाअनुसार चल्न नसकेको भन्दै कटाक्ष गरे । मनिष झाले सुशासनको नारा दिने सरकारले अझै पुरानो प्रवृत्ति अन्त्य गर्न नसकेको टिप्पणी गरे । कमल सुवेदीले कृत्रिम अभाव र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको प्रश्न उठाए । बदनकुमार भण्डारीले स्वास्थ्य सेवा र राज्यको उपस्थितिमाथि प्रश्न गरे भने टीका संग्रौला (ज्वाला)ले गरिब नागरिकका आधारभूत आवश्यकताप्रति सरकार उदासीन रहेको आरोप लगाइन् ।

यी सबै अभिव्यक्तिको निशाना अन्ततः सरकारकै नेतृत्व थियो, जसको नेतृत्व पार्टी पार्टीका प्रधानमन्त्री बालेन्द्र साहले गरिरहेका छन् ।

संसदमा आफ्नै सांसदबाट सरकारको आलोचना भइरहेको दिन राति (शुक्रबार) प्रधानमन्त्री शाहले फेसबुकमा एउटा रहस्यमय स्टाटस लेखे– “केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।”

स्टाटसमा कसैको नाम छैन । तर, संसदमा आफ्नै पार्टीका सांसदले सरकारलाई कठघरामा उभ्याएको दिन राति आएको यो सन्देशलाई सामान्य भनेर मात्र पन्छाउन गाह्रो छ ।

 

स्टाटसमा कसैको नाम छैन । तर, संसदमा आफ्नै पार्टीका सांसदले सरकारलाई कठघरामा उभ्याएको दिन राति आएको यो सन्देशलाई सामान्य भनेर मात्र पन्छाउन गाह्रो छ ।

पछिल्ला महिनाहरूमा प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेबीच सम्बन्ध पहिलेजस्तो सहज नरहेको चर्चा राजनीतिक वृत्तमा हुँदै आएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि आर्थिक नीति र निर्णय प्रक्रियालाई लिएर मतभेद रहेको चर्चा पटक–पटक बाहिर आएको छ ।

यही पृष्ठभूमिमा शुक्रबारको घटनाक्रमलाई हेर्दा प्रधानमन्त्रीको स्टाटसले धेरै प्रश्न जन्माएको छ । के यो आफ्नै पार्टीका सांसदलाई संयम अपनाउन दिइएको अप्रत्यक्ष सन्देश थियो ? सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गर्ने संकेत थियो ? कि प्रधानमन्त्रीले आफू पार्टीभित्रै राजनीतिक दबाबमा परेको अनुभूति सार्वजनिक गर्न खोजेका हुन् ?

प्रधानमन्त्रीले लेखेको “सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्छ” भन्ने वाक्य पनि अर्थपूर्ण छ । यसले पार्टीभित्र भइरहेका शक्ति संघर्षको संकेत गर्न खोजेको हुन सक्छ । त्यस्तै, “एक्लै लड्नुपर्छ” भन्ने अभिव्यक्तिले पार्टीभित्रै आफूलाई एक्लिएको महसुस गरिरहेको प्रष्ट सन्देश पनि दिएको छ ।

लोकतान्त्रिक राजनीतिमा आफ्नै पार्टीका सांसदले सरकारको आलोचना गर्नु अस्वाभाविक होइन । तर एउटै दिन संसदमा आफ्नै सांसदबाट समन्वित रूपमा सरकारमाथि प्रश्न उठ्नु र त्यसको केही घण्टामै प्रधानमन्त्रीबाट “एक्लै लड्नुपर्छ” भन्ने सन्देश आउनु भने राजनीतिक रूपमा सामान्य संयोग मात्र हो भनेर भन्न सकिँदैन ।

तर एउटै दिन संसदमा आफ्नै सांसदबाट समन्वित रूपमा सरकारमाथि प्रश्न उठ्नु र त्यसको केही घण्टामै प्रधानमन्त्रीबाट “एक्लै लड्नुपर्छ” भन्ने सन्देश आउनु भने राजनीतिक रूपमा सामान्य संयोग मात्र हो भनेर भन्न सकिँदैन ।

 

अब चासोको विषय एउटा मात्रै छ– यो फेसबुक स्टाटस क्षणिक भावनाको अभिव्यक्ति थियो, आफ्नै पार्टीलाई दिइएको राजनीतिक चेतावनी थियो, वा पार्टीभित्र देखिन थालेको शक्ति संघर्षको संकेत ? यसको उत्तर स्टाटसले होइन, अबका राजनीतिक निर्णय र पार्टीभित्रको व्यवहारले दिनेछ ।