काठमाडौं । देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ ।
बजारमा ग्यास अभाव भएपछि राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका ग्यास डिपोहरूमा ग्यास लिनका लागि सर्वसाधारणको भीड लागेको हो ।
नेपाल आयल निगमले साउनदेखि भरि सिलिन्डर (१४.२ केजी) वितरण गर्न थालेसँगै बजारमा ग्यास अभावको समस्या एकसाथ देखिन थालेको हो । यस अघिसम्म आयल निगमकै निर्णयअनुसार आधा सिलिन्डर (७.१ केजी) बिक्री वितरण शुरू गरिएको थियो ।
साउनदेखि फुल अर्थात् १४.२ केजी सिलिन्डर वितरण शुरू गरेदेखि आपूर्ति शृङ्खला खलबलिएको निगमले जनाएको छ । काठमाडौंमा ग्यासको समस्यालाई हेर्दै आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास वितरण शुरू गरेको छ । ग्यास लिन निगमको टेकुस्थित कार्यालय पुगेका उपभोक्ताहरुले भने लामो समय लाइन बस्दापनि ग्यास नपाएको भन्दै गुनासो गरेका छन् ।
उनीहरुले डिलरहरुले बजारमा हल्लाकै आधारमा ग्यास अभाव सृजाना गरेको भन्दै संघ र स्थानिय सरकारले अनुगमन गरेर ग्यास आपुर्तीलाइ सहज बनाउनुपर्ने बताएका छन् ।
यता निगमले भने तत्काल ग्यास नभई नहुनेका लागि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।















प्रतिक्रिया