काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर पार्ने प्रयास स्वरूप पछिल्ला घटना घटिरहेको निष्कर्ष निकालेको छ ।
आज बसेको कार्यसंयोजन समितिको बैठकले समुदायबीच वैमनस्य सृजना गरी संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर पार्ने प्रयास भइरहेको ठहर गरेको हो ।
प्रवक्ता प्रकाश ज्वालाले भने, ‘स्थानीय अवस्थालाई थप भड्काउने, विभिन्न समुदायबीच वैमनस्य, घृणा, अविश्वास र तनाव सिर्जना गरी आफ्नो निहित राजनीतिक स्वार्थ पूरा गर्न खोज्ने कुनै पनि प्रवृत्ति, षड्यन्त्र वा गतिविधिप्रति केन्द्रीय कार्य संयोजन समितिको यो बैठक गम्भीर रूपमा सचेत रहन सम्पूर्ण नेपाली जनतासमक्ष आह्वान गर्दछ ।’
पार्टीले सुनसरी, सिरहा लगायत तराई-मधेशमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग पनि गरेको छ।
यी घटनामा सरकार संवेदनशील नदेखिएको पनि नेकपाको ठहर छ ।
उनले भने, ‘प्रधानमन्त्री र सरकारले परिस्थितिको गम्भीरतालाई आवश्यक राजनीतिक संवेदनशीलताका साथ पहल र सम्बोधन गर्नुको सट्टा यसको केवल प्रशासनिक, प्राविधिक र शक्ति प्रयोगद्वारा समाधान खोज्नेतर्फ बढी केन्द्रित हुनु दुःखद छ। परिस्थितिको यथोचित मूल्याङ्कन गर्दै उचित पाइला चाल्नेतर्फ सरकारको नेतृत्व गर्नेहरू संवेदनशील भएर तत्पर रहेको देखिएन ।’
सरकार, सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली जनतालाई आपसी विश्वास, संयम, निरन्तर संवाद र जिम्मेवारीपूर्ण व्यवहारका साथ अघि बढ्न अपिल समेत गरेको छ।















प्रतिक्रिया