काठमाडौं । राहदानी छपाइसम्बन्धी अनियमितता मुद्दामा प्रतिवादी सिद्धार्थ थापा विशेष अदालतको आदेशपछि साधारण तारेखमा रिहा भएका छन्। अदालतमा आफैँ उपस्थित भएका थापालाई अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले धरौटीसमेत नलिई साधारण तारेखमा राख्ने आदेश दिएको हो।
थापाविरुद्ध राज्यलाई गैरकानुनी लाभहानी पुर्याएको आरोपमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो। उनी राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली प्रतिनिधि हुन्।
यसै प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थ अर्याल पक्राउ परेका थिए। प्रतिस्पर्धात्मक टेन्डर प्रक्रियाबिना पुरानै आपूर्तिकर्तासँग सम्झौता थपेर राज्यलाई आर्थिक क्षति पुर्याएको आरोप उनीहरूमाथि लगाइएको छ।
राहदानी विभागले पाँच वर्षका लागि ६४ हजार ई–पासपोर्ट खरिद गर्न २०८१ मंसिरमा टेन्डर आह्वान गरेको थियो। छोटो समयसीमा राखिएको उक्त प्रक्रियामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो। थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता सुनीलबहादुर थापाका छोरा हुन्।















प्रतिक्रिया