विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारले सरकारसँग सहमति भइसकेपछि पनि शव बुझ्न अस्वीकार गरेका छन्।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तामा मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने, परिवारका एक–एक सदस्यलाई रोजगारी उपलब्ध गराउने, दोषीमाथि कारबाही गर्ने तथा स्मृति पार्क निर्माण गर्नेलगायतका विषयमा सहमति भएको थियो। शुक्रबार दिउँसो अन्त्येष्टि गर्ने सहमति भए पनि परिवारले शव नबुझेपछि प्रक्रिया रोकिएको छ।
स्थानीय प्रशासनले परिवार र असन्तुष्ट पक्षसँग छलफल गरी शव बुझाउने वातावरण बनाउने प्रयास भइरहेको जनाएको छ। दुवै शव विराटनगरस्थित न्युरो अस्पतालमा राखिएका छन्।
गत आइतबार दुई समुदायबीचको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा ओमप्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने जयप्रकाशको उपचारका क्रममा ज्यान गएको थियो।
यसैबीच, सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारले पनि सरकारसँग छुट्टै सहमति हुनुपर्ने माग गरेका छन्। यही विषयले उनको शव बुझ्नसमेत अवरोध भएको छ।
कप्तानगञ्ज घटनामा गोली लागेर १० जना घाइते भएका थिए। त्यसपछि सुनसरीका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र आक्रमणका घटना भए भने जिल्लाका नौ स्थानीय तहमा कर्फ्यु लगाइएको थियो। अवस्था केही मत्थर भए पनि घटनाको प्रभाव अन्य जिल्लासम्म फैलिएको छ।















प्रतिक्रिया