३१ आश्विन २०८३, शनिबार

साथी निर्मल पूर्जाको खोजीका लागि सांसद मिङ्मा डेभिड शेर्पा पाकिस्तान जाँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका चर्चित नेपाली आरोही निर्मल पुर्जासहितका आरोहीको खोज तथा उद्धारमा सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा डेभिड शेर्पा पाकिस्तान जाने भएका छन्।

पुर्जासँग लामो समयदेखि व्यावसायिक तथा व्यक्तिगत रूपमा जोडिएका शेर्पा उनलाई उद्धार गर्ने प्रयासमा प्रत्यक्ष सहभागी हुन आजै कतार हुँदै पाकिस्तान प्रस्थान  गर्न लागेका हुन्। उनी पुर्जा आबद्ध ‘इलाइट एक्सपिडिसन’ का साझेदारसमेत हुन्।

शेर्पाका साथ उच्च हिमाली क्षेत्रमा उडानको अनुभव भएका एक पाइलटसहित तीन सदस्यीय टोली पाकिस्तान जान लागेको बताइएको छ। ब्रोड पिकमा पुगेर घटनास्थलको अवस्थाबारे जानकारी लिने तथा उपलब्ध उद्धार संयन्त्रसँग समन्वय गर्दै खोजी अभियानलाई थप प्रभावकारी बनाउने उनीहरूको तयारी छ।

शेर्पाका अनुसार बेलायतबाट पनि पुर्जासहित बेपत्ता आरोहीको खोज तथा उद्धारका लागि केही व्यक्तिहरू पाकिस्तानतर्फ प्रस्थान गरिसकेका छन्। अन्तर्राष्ट्रियस्तरबाट समेत उद्धारका लागि प्रयास भइरहेको उनले जानकारी दिए।

यसैबीच, केटु हिमालको शिखरमा रहेको इलाइट एक्सपिडिसनको टोलीले समेत आफ्नो आरोहण योजना स्थगित गरेको छ। ब्रोड पिकमा भएको दुर्घटनापछि टोली त्यतैतर्फ लागेर उद्धार अभियानमा सहयोग गर्ने तयारीमा रहेको शेर्पाले बताएका छन्।

उनका अनुसार ब्रोड पिकमा खोजीका लागि हेलिकप्टर पुगे पनि त्यसपछि हेलिकप्टरको अवस्था र थप उद्धार गतिविधिबारे स्पष्ट जानकारी आउन बाँकी छ। घटनास्थलमा मौसम अनुकूल रहेको दाबी गर्दै उनले यही कारण ब्रोड पिक आरोहणको योजना बनाइएको बताए।

शेर्पाले निर्मल पुर्जाको अवस्थाबारे सकारात्मक खबर आउने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार पछिल्लो समयसम्म उपलब्ध स्याटेलाइट तथ्यांकमा पुर्जाको मुभमेन्ट देखिएको छ। यद्यपि, यसको आधारमा उनको अवस्थाबारे निष्कर्ष निकाल्न भने अझै सकिने अवस्था छैन।

बिहीबार ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा नेपालका ६ जनासहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली परेर सम्पर्कविहीन भएको थियो। टोलीमा पुर्जासहित नेपाली, पाकिस्तानी, चिनियाँ, अमेरिकी र ओमानी आरोही सहभागी थिए।

घटनापछि जारी खोजी तथा उद्धार अभियानका क्रममा अहिलेसम्म चार जनाको शव फेला परेको बताइएको छ। तर फेला परेका शवको पहिचान भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। बाँकी आरोहीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी छ।