काठमाडौं । काठमाडौंमा एकैदिन तीन व्यवसायीले आत्महत्या वा आत्मदाहको प्रयास गरेका घटना सार्वजनिक भएको छ ।
कपडा व्यवसायी नवीन अग्रवालले आत्महत्या गरे, मेडिकल व्यवसायी सुरेशचन्द्र श्रेष्ठले गाडीभित्रै आगो लगाएर ज्यान गुमाए भने खाजा व्यवसाय सञ्चालन गर्दै आएकी सालु गुरुङले आत्मदाहको प्रयास गरेकी छन्। काठमाडौंमा मंगलबार सार्वजनिक भएका तीनवटै घटनामा प्रारम्भिक अनुसन्धानले आर्थिक तथा मानसिक तनावलाई प्रमुख कारणका रूपमा देखाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बौद्धका कपडा व्यवसायी नवीन अग्रवालले सोमबार बेलुकी आफ्नै घरको चौथो तलाको बार्दलीबाट हामफालेर आत्महत्या गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो।
पारिवारिक स्रोतका अनुसार भारतबाट कपडा आयात गरी थोक तथा खुद्रा व्यापार गर्दै आएका अग्रवाल पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण आर्थिक रूपमा गम्भीर तनावमा थिए।
त्यसैगरी, मंगलबार बिहान कीर्तिपुरको ट्याङ्लाफाँटमा आगलागी भएको कारभित्र ७० वर्षीय मेडिकल व्यवसायी सुरेशचन्द्र श्रेष्ठ मृत फेला परेका थिए। प्रहरीले अनुसन्धानपछि गाडीमा आफैंले पेट्रोल छर्केर आगो लगाएको निष्कर्ष निकालेको छ। परिवारका अनुसार कोभिड महामारीका बेला विदेशबाट स्वास्थ्य सामग्री आयात गर्दा ठूलो लगानी गरेका श्रेष्ठ बजारबाट रकम उठ्न नसकेपछि ऋणमा डुबेका थिए। ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेपछि उनी लामो समयदेखि मानसिक समस्यामा रहेको र अस्वाभाविक व्यवहार देखाउने गरेको परिवारले प्रहरीलाई जनाएको छ।
फुटेजमा एक व्यक्तिले गाडीको ढोका खोल्ने प्रयास गरे पनि आगोका कारण सफल हुन नसकेको देखिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिएपछि श्रेष्ठ चालक सिटमै मृत अवस्थामा फेला परेका थिए।
उता, काठमाडौंको गोकर्णेश्वर–८ माकलबारीमा २७ वर्षीया सालु गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्। उनी करिब ५० प्रतिशत जलेको अवस्थामा उपचाररत छिन्।प्रहरीका अनुसार गुरुङलाई उनका श्रीमानले उद्धार गरी अस्पताल पुर्याएका थिए। घटनाबारे अनुसन्धान जारी रहेको छ।
यी तीन घटनाले देशको सुस्ताएको अर्थतन्त्र, व्यापारमा आएको मन्दी, बढ्दो ऋणभार र त्यसबाट सिर्जित मानसिक तनावले व्यवसायी समुदायलाई गम्भीर रूपमा प्रभावित गरिरहेको संकेत गरेको छ। व्यवसायीहरूले लामो समयदेखि बजारमा कारोबार घटेको, लगानी फिर्ता हुन नसकेको र बैंक तथा वित्तीय दायित्वको चाप बढ्दै गएको गुनासो गर्दै आएका छन्।







प्रतिक्रिया