३० आश्विन २०८३, शुक्रबार

क्रिकेट इभेन्ट खेल्न नेपाली क्रिकेटरको टोली हङकङ जाँदै, सिद्धान्तले पाए अर्काे मौका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddhant-lohani

काठमाडौं, २८ साउन । भूकम्पपीडितको सहयोगार्थ हङकङमा हुने क्रिकेट इभेन्ट खेल्न नेपाली खेलाडीहरु आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

हङकङ क्रिकेट संघको आयोजनामा हुन लागेको ‘सिक्सेस फर नेपाल’ इभेन्टमा नेपाली राष्ट्रिय क्रिकेट टीमका ६ क्रिकेटरले सहभागिता जनाउँदैछन् । जसमा युवा क्रिकेटर सिद्धान्त लोहनीले पनि मौका पाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार सिद्धान्तसहित नेपाली क्रिकेटरहरु आज दिउँसो हङकङ प्रस्थान गर्दैछन् । ‘खेलले जीवन परिर्वतन गर्न सक्छ’ भन्ने नारासहित आयोजना गरिन लागेका सुपर सिक्स इभेन्टमा नेपालबाट शरद भेष्वाकर, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, भुवन कार्की र सिद्धान्त लोहनीले सहभागिता जनाउन लागेका हुन् ।

टी-२० विश्वकप छनोटमा जर्सीविरुद्धको डेब्यू खेलमा हेलिकप्टर सट हानेर राम्रो प्रभाव छाडेका सिद्धान्तलाई हङकङ क्रिकेट एशोसिएशनले ‘किङ अफ हेलिकोप्टर सट’ भन्दै उनलाई इभेन्ट खेल्न छानेको हो ।

Sudanta-lohani

यसअघि सिद्धान्तले मलेसियामा भएको विश्व ११ सँगको च्यारिटी म्याचमा पनि खेल्ने अवसर पाएका थिए । इभेन्टका लागि ६ फरक टीम बनाएको छ । टीमको नाम नेपालका भूकम्प प्रभावित ६ जिल्ला गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रसुवा र धादिङ राखिएको छ ।

इभेन्टमा दुई समूहमा ३-३ टीम हुनेछ । नेपाली खेलाडीलाई अक्सनमा राखेर प्रत्येक टीममा एक खेलाडी राखिने र बाँकी हङकङका खेलाडी राखिने नेपाल क्रिकेट संघका सीइओ भावना घिमिरेले बताईन् ।

उनका अनुसार सिद्धान्तले नुवाकोट, सोमपालले गोरखा, शरदले सिन्धुपाल्चोक, शक्तिले दोलखा, बसन्तले रसुवा र भुवनले धादिङ टीमबाट खेल्नेछन् । खेलबाट संकलन भएको रकम हङकङ क्रिकेट संघले भूकम्पपीडितको सहयोगार्थ नेपाललाई दिनेछ ।