३ श्रावण २०८३, आइतबार

मुस्ताङमा नेपाली सेनाको ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ । मुस्ताङमा नेपाली सेनाले बिहीबार ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु गरेको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा खोज तथा रेस्क्यु अभ्यास गरिएको हो ।

उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यमा सहज पुर्‍याउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमुना अभ्यास आयोजना गरेको जनाएको छ ।

अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चार जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब ५५ जनाभन्दा बढीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने र यस प्रकारका जोखिमयुक्त स्थानमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन उद्धारकार्यलाई प्रभावकारी तुल्याउन प्राविधिक सिप र कलाको विकासले खोज तथा उद्धारमा सहयोग पुग्ने इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए । खोज तथा उद्धार अभ्यासअन्तर्गत हिमनदी र पर्वतीय खोचमा पसेका यात्रीलाई सुरक्षित उद्धारलगायतका अभ्यास हुने उनले बताए ।

‘रेस्क्यु’ अभ्यासअन्तर्गतको पहिलो दिन इन्द्रबक्स गणको नजिकैको विशाल चट्टानी पहाडमा डोरीको सहायताबाट रक क्लामिङको नमूना अभ्यास गरी ‘रेस्क्यु’ अभ्यास गरिएको हो ।

त्यसैगरी, अभ्यासको दोस्रो दिन आज (शुक्रबार) घरपझोङ गाउँपालिका-५ स्थित सैनिक उच्च शिखर शिक्षालय नजिकै रहेको हिमनदी इलाकामा ‘रेस्क्यु’ अभ्यास हुने इन्द्रबक्स गणले जनाएको छ । उक्त स्थान समुद्री सतहको चार हजार मिटरको उचाइमा छ । हिमनदी र हिउँ पहिरो जाने क्षेत्रमा अलपत्र परेका पदयात्रीको खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिने जनाइएको छ ।