३० आश्विन २०८३, शुक्रबार

माल्दिभ्सको पोष्टमा ५ गोलको वर्षा गर्दै नेपालको विजयी यात्रा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saff-u-16काठमाडौँ, २५ साउन । बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५-० ले हराउँदै विजयी सुरुआत गरेको छ ।

सिल्हेटको मैदानमा आज भएको खेलमा नेपाललाई जित दिलाउन प्रेजेन तामाङ र सुमन अर्यालले दुई÷दुई तथा लक्ष्मण परियारले एक गोल गरे । नेपालका लक्ष्मण परियारले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि १८ औँ मिनेटमा प्रेजेनले गोल थपेर अग्रता दोब्बर बनाए । एक्काइसौैँ मिनेटमा सुमनले गोल गरेपछि नेपालले मध्यान्तरअघि नै ३-० को अग्रता लियो ।

दोस्रो हाफको ५० औँ मिनेटमा पुनः प्रेजेनले तथा खेल सकिने अतिरिक्त समयमा सुमनले हेडमार्फत सुन्दर गोल थपेपछि माल्दिभ्स खेलमा फर्कन सकेन र नेपालले फराकिलो जित निकाल्यो ।

छ मुलुक सहभागी जारी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । उक्त समूहमा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो भने सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसिपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । रासस