महेन्द्रनगर, २२ साउन । अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा पुष्करराज जोशी लख्खाभाइले संघीय संरचनामा सुदूरपश्चिमको मौजुदा ९ जिल्लाको संरचना सहितको अखण्ड सुदूरपश्चिम राज्य नभए रक्तपात हुन सक्ने चेतावनी दिएका छन् ।
शुक्रवार एक विज्ञप्ती जारी गर्दै उनले कडा चेतावनी दिएका हुन् । वर्षौदेखि आन्तरिक उपनिवेशको शिकार बनेको सुदूरपश्चिमलाई संघीयतामा पनि कैलाली कञ्चनपुर टुक्र्याएर अपांग राज्य बनाउने षडयन्त्र भएमा हतियार समेत उठ्न सक्ने चेतावनी दिएका हुन् । ‘सदियौदेखि मिलीजुली बसेका समुदायका वीच सुनियोजित तवरले विखण्डन ल्याउने उद्देश्यका साथ जातीय राज्यका कुरा उठान गरेका छन्,’ लख्खाभाइद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ- ‘हामीलाई कैलाली कञ्चनपुर विनाको सुदूरपश्चिम कुनैपनि हालतमा मान्य हुँदैन ।’
ठूला दलका केही शीर्ष नेताहरु अझैपनि सुदूरपश्चिमेली जनताको भावनामाथि खेलवाड गर्ने षडयन्त्रमा लागिपरेको भन्दै लख्खाभाइले दबाबका लागि आन्दोलनमा होमिन सबै सुदूरपश्चिमेली जनतालाई आव्हान गरेका छन् । विज्ञप्तीमा उनले अहिले अखण्ड सुदूरपश्चिमका विरोधमा केही नेताहरु षडयन्त्रमै लागिरहेका कारण उक्त मुद्दा सम्बोधन नहुँदा सम्म अनिश्चितकालिन सुदूरपश्चिम बन्दको आव्हान गरेका छन् ।
राप्रपा नेपालका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक समेत रहेका पुष्करराज जोशी लख्खाभाइ २०६४ सालदेखि नै अखण्ड सुदूरपश्चिमको आन्दोलनको अगुवाई गर्दै आईरहेका छन् ।












प्रतिक्रिया