२९ आश्विन २०८३, बिहिबार

भोलि र पर्सि तीव्र हावाहुरीसहित वर्षा, अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागबाट जारी आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार, चैत ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ ।

साथै, शुक्रबारबाटै दाङ र नेपालगन्जसहित लुम्बिनीअन्तर्गत तराई क्षेत्रआसपासका जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्रि–मनसुनको अवधि पनि रहेकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुनेलगायत जोखिम रहन्छ । पछिल्ला दिनमा हावाहुरीका घटनाका कारण मानिसको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

“उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोत बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भीडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ,” प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले आग्रह गरेको छ ।