२९ आश्विन २०८३, बिहिबार

मलेसिया जाने श्रमिकमाथि ठगीको आरोप : व्यवसायी कैलाश खड्का पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र भिसा प्रक्रियामा सिन्डिकेट खडा गरेको आरोपमा विवादमा पर्दै आएका मेडिकल व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौंमा पक्राउ गरेको हो ।

मलेसिया जाने नेपाली श्रमिकलाई रोजगारीमा पठाउने प्रक्रियामा विभिन्न संयन्त्रमार्फत अतिरिक्त शुल्क असुलिएको र अर्बौं रुपैयाँ ठगी भएको आरोपसँग जोडेर प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ । प्रधानमन्त्रीको निर्देशनपछि खड्कासहित अन्य मेडिकल व्यवसायीमाथि अनुसन्धान अघि बढाइएको बताइएको छ ।

खड्काको पक्राउले करिब आठ वर्षअघि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण र भिसा प्रक्रियालाई लिएर चर्किएको सिन्डिकेट विवादलाई फेरि सतहमा ल्याएको छ ।

२०७५ को प्रकरणमा फरार भएका थिए खड्का

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली श्रमिकमाथि अतिरिक्त आर्थिक भार पार्ने बायोमेट्रिक, भिएलएन, वान स्टप सेन्टर र जिएसजी प्रणालीविरुद्ध कारबाही अघि बढाएका थिए ।

२०७५ जेठमा उक्त प्रकरणमा ४० जनाभन्दा बढी व्यवसायी पक्राउ परेका थिए । तर, बायोमेट्रिक प्रणालीसँग जोडिएका व्यवसायी खड्का भने त्यतिबेला फरार रहेको विवरण सार्वजनिक भएको थियो । उनलाई राजनीतिक संरक्षण प्राप्त भएको आरोपसमेत लागेको थियो ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया र अन्य शीर्षकमा प्रतिव्यक्ति १७ हजारदेखि १८ हजार रुपैयाँसम्म अतिरिक्त आर्थिक भार परेको विभिन्न समाचार विवरणमा उल्लेख गरिएको थियो । यही विवादपछि सरकारले मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया रोकेको थियो ।

३९ स्वास्थ्य संस्थाको अनुमतिले उठाएको थियो प्रश्न

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि ३९ वटा स्वास्थ्य संस्थाले मात्रै अनुमति पाएको विषय पनि विवादको केन्द्रमा थियो । सीमित संस्थालाई मात्र अनुमति दिँदा प्रतिस्पर्धा खुम्चिएको र श्रमिकले महँगो शुल्क तिर्नुपरेको आरोप लागेको थियो ।

खड्काले काठमाडौंका सिनामंगल, चाबहिल र कोटेश्वरमा रहेका चारवटा स्वास्थ्य संस्थामार्फत व्यवसाय सञ्चालन गरेको विवरण सार्वजनिक भएको थियो । ती संस्थामा अनमोल मेडिकल सेन्टर, प्रशान्ती हेल्थकेयर, डायग्नोस्टिक मेडिकल सेन्टर र हिमालयन डायग्नोस्टिक क्लिनिक रहेका थिए ।

विवादकै बीच वैदेशिक रोजगार बोर्डमा नियुक्ति

विगतमा श्रमिकमाथि अतिरिक्त आर्थिक भार पार्ने प्रणालीसँग जोडिएको आरोप खेपिरहेका खड्का २०७७ असार २२ गते वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यमा नियुक्त भएपछि पुनः विवादमा परेका थिए ।

तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवले उनलाई बोर्डको विशेषज्ञ सदस्यमा मनोनित गरेका थिए । श्रमिकको हकहित संरक्षण गर्ने निकायमा विवादित पृष्ठभूमिका व्यवसायीलाई नियुक्त गरिएको भन्दै सरकारको आलोचना भएको थियो । त्यसपछि खड्काले २०७७ साउन १ गते बोर्ड सदस्यबाट राजीनामा दिएका थिए ।

आरोप र अदालतको फैसलालाई अलग राख्नुपर्ने

खड्कासँग सम्बन्धित ठगी प्रकरणमा अदालतबाट सफाइ पाएको विवरण समेत सार्वजनिक भएको थियो । त्यसैले विगतमा उनीमाथि लागेका आरोप र अदालतबाट भएका निर्णयलाई एउटै रूपमा व्याख्या गर्न मिल्दैन । अहिले पक्राउ परेको प्रकरणमा उनीमाथि लगाइएका आरोपको कानुनी निरूपण अनुसन्धान र न्यायिक प्रक्रियाबाटै हुनेछ ।

खड्काको पक्राउसँगै वैदेशिक रोजगारीका नाममा नेपाली श्रमिकबाट अतिरिक्त रकम असुल्ने, स्वास्थ्य परीक्षणमा सीमित व्यवसायीको प्रभाव कायम गर्ने र नियमनकारी निकायको भूमिकाबारे फेरि प्रश्न उठेको छ ।

अब सीआईबीको अनुसन्धानले पुरानो सिन्डिकेट प्रकरणसँग सम्बन्धित आर्थिक कारोबार, सम्भावित संलग्नता र अहिलेको आरोपबीच के सम्बन्ध देखाउँछ भन्ने चासो बढेको छ ।