काठमाडौं, २२ साउन । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्यहरुले सुदूरपश्चिमलाई कुनै हालतमा पनि अखण्ड राख्न नहुने बताएका छन् ।
सिंहदरबारमा आज बसेको एमाओवादीे स्थायी समितिको बैठकमा केन्द्रीय नेताहरुले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलाई टुक्र्याएर थारुवान प्रदेशमा गाभ्नुपर्ने माग राखेको प्रवक्ता दिनानाथ शर्माले बताउनुभयो ।
‘सुदूरपश्चिमलाई अखण्ड राखिनुपर्ने र लुम्बिनी, गण्डकी अञ्चल अखण्ड हुनुपर्ने माग सङ्घीयताको प्रावधान र मान्यता विपरीत रहेको भन्दै त्यसो नगर्न पार्टी नेतृत्वलाई चर्काे दबाब केन्द्रीय सदस्यहरुले दिएका छन्’ उनले भने-‘पार्टीले सबैको चाहना र भावनालाई सम्मान गर्नुपर्ने भन्दै बैठकमा सुदूरपश्चिमबाट कैलाली-कञ्चनपुरलाई अलग्याउनुपर्ने मागमा छलफल भयो ।’
केन्द्रीय सदस्यहरुको दबाबपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको चाहना र पार्टीको एजेण्डा अनुसार सुदूरपश्चिमलाई अखण्ड राख्ने कि कैलाली कञ्चनपुरलाई अलग्याउने भन्ने विषयमा टुङ्गो लाग्ने जवाफ दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया