म्याग्दी, ३१ जेठ । प्रवेशिका परीक्षामा म्याग्दी जिल्लाका पाँच वटा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
गुणस्तरीय शिक्षाका कारण ती विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् । बेनी नगरपालिकाभित्र अवस्थित जमुनाखर्क उच्च मावि, अर्थुङेसहित जनविकास मावि मराङ, ज्ञानोदय मावि पिप्ले मौवाफाँट, आदर्श मावि रिमा हिस्तान र महेन्द्र मावि झिँले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको जामुनाखर्क उमाविबाट परीक्षामा सहभागी ४८ मध्ये ३५ जना प्रथम र १३ जना विद्यार्थी द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि दुर्गम भेगमा सञ्चालित जनविकास माविबाट सहभागी १९ जना विद्यार्थीमध्ये १२ जना प्रथम र सात जना द्वितीय श्रेणीमा उत्तीर्ण हुन सफल भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, पिप्ले मौवाफाँटमा सञ्चालित ज्ञानोदय माविबाट परीक्षामा सहभागी २० जना परीक्षार्थीमध्ये १२ जना प्रथम र आठ जना द्वितीय श्रेणीमा विद्यार्थी उत्तीर्ण भएका छन् भने आदर्श मावि रिमा हिस्तानबाट परीक्षामा सहभागी आठ जनामध्ये पाँच जना प्रथम श्रेणी र तीन जना द्वितीय श्रेणीमा विद्यार्थी उत्तीर्ण भएका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार, निजी विद्यालयतर्फ बेस्ट प्वाइन्ट आवासीय उच्च मावि, डर्निङ आवासीय मावि, लोपदीप आवासीय मावि, बुद्ध एकेडेमी र गलेश्वर आदर्श माविका पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको २०७० सालको एसएलसी परीक्षाको नतिजाअनुसार म्याग्दीमा ७१.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । कुल दुई हजार ३० जना परीक्षार्थी सहभागी भएकामा २३ जना विशिष्ट श्रेणीसहित, ५७५ जना प्रथम, ८४४ जना द्वितीय र १८ जना तृतीय श्रेणीमा गरी जम्मा एक हजार ४६० जना उत्तीर्ण हुन सफल भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया