काठमाडौं, २१ साउन । ६ प्रदेशमा सीमांकनको टुङ्गो लगाउन आज विहानैदेखि वार्तामा बसिरहेका शीर्ष नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् ।
संविधानमा संघीय प्रदेशको सीमांकन लगायतका विवाद मिलाएर साँझ पाँच बजे राजनीतिक सहमति तथा सम्वाद समितिमा सहमतिको दस्तावेज पेस गर्ने बताइएपनि नेताहरु बाहिरिएका हुन् । नेताहरु सिंहदरबारबाट बाहिरिएपछि सीमांकन विवाद झन लम्बिएको छ ।
शीर्ष नेताहरुमध्ये मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले त काठमाडौं नै छाडेका छन् । गच्छदार गृह जिल्ला विराटनगर प्रस्थान गरेका छन् ।
झापा, मोरङ, सुनसरीबाट सप्तरीलाई अलग्याउनुपर्ने अडान राख्दै नेता गच्छदार विराटनगरतिर लागेका हुन् । स्रोतका अनुसार गच्छदारले सप्तरीलाई पूर्वी प्रदेशमा नमिलाए झापा, मोरङ, सुनसरीलाई पनि मधेस प्रदेशमा राख्नुपर्ने अडान लिएका छन् । गच्छदारको प्रस्तावमा कांग्रेस, एमाले सकारात्मक छन् । एमाओवादीले भने सप्तरीलाई मधेस प्रदेशमै राख्नुपर्ने अडान लिएपछि सहमतिमा हुन नसकेको स्रोतले जनायो ।
यस्तो कडा अडान लिएर गच्छदार सिंहदरवारबाट सिधै विराटनगर गएका फोरम नेता रामजनम चौधरीले बताए । प्रदेशको सीमाकंनबारे कार्यकर्तासँग छलफल गर्न गच्छदार विराटनगर गएको बताइएको छ ।
गच्छदार विराटनगर गएपछि साँझ ५ बजे बोलाइएको सम्वाद समितिको बैठक अनिश्चित भएको छ । विशेष समितिको बैठकमा सहभागी एक नेताका अनुसार आज पनि सीमाङकनमा सहमति जुट्ने सम्भावना एकदमै कम छ ।












प्रतिक्रिया