१८ असार २०८३, बिहिबार

तेह्रथुम पुगेर बालेनले भने– ठूला कुराभन्दा गर्न सकिने कुरा गरौँ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन साह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका साहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गरेका हुन् ।

स्थानीयसँगको अन्तरक्रियामा साहले तेह्रथुमलाई कागज वा पुस्तकबाट मात्र होइन, प्रत्यक्ष अनुभव गरेर बुझ्न चाहेको बताएका छन् ।

‘तेह्रथुमको बारेमा विकिपिडियामा पढ्न सकिन्छ, किताबबाट पनि बुझ्न सकिन्छ,’ उनले भने, ‘तर यही आएर यहीको हावापानीमा भिजेर, यहीको माटोमा बसेर, यहीका मान्छे भेटेर आँखा, हात र मनले महसुस गरेपछि मात्र त्यो ठाउँ कस्तो रहेछ भन्ने थाहा हुन्छ । भोलि तेह्रथुमका समस्या उठाउँदा आफूलाई पनि थाहा होस् भनेर यहाँ आएका हौँ ।’

उनले रास्वपाका सभापति तथा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिका रहेको उल्लेख गर्दै स्थानीयस्तरमै सकिने र व्यवहारिक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘ठूला–ठूला कुराभन्दा पनि सकिने कुरा गरौँ,’ साहले भने, ‘यहाँ कृषि उत्पादन राम्रो छ तर बजारको समस्या मुख्य रूपमा देखिएको छ ।’

तेह्रथुममा आयोजित भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी थिए ।

साहले स्थानीय समस्यालाई प्रत्यक्ष रूपमा बुझेर नीति तथा योजनामा समेट्ने उद्देश्यले भेटघाट गरिएको बताए ।

झापा–५ बाट उम्मेदवारी दिएका साह पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् । यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पुगेका थिए ।