वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।
त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड रुपैयाँ, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड रुपैयाँ र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रुपैयाँ रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ । चाडबाड लगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता हासिल गरेको हो । रासस















प्रतिक्रिया