कपिलवस्तु । काठमाडौं बसेर समाजसेवा गरेको दाबी गर्ने प्रकाश रजौरियाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । तर उनको उम्मेदवारीभन्दा पनि उनको निरन्तर दल परिवर्तन र विचारगत अस्थिरता अहिले स्थानीय राजनीतिक वृत्तमा मुख्य बहसको विषय बनेको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रभाव उत्कर्षमा रहेका बेला रजौरियाले सोही पार्टीबाट उम्मेदवारी दिएका थिए । त्यो समयमा उनी खुला रूपमा राजतन्त्रको वकालत गर्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर अहिले राजनीतिक समीकरण फेरिँदै जाँदा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लोकप्रियता बढ्दै गएपछि उनी सोही दलबाट उम्मेदवार बनेका छन् ।
उनी निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको पनि बताइन्छ । तर अन्तिम समयमा योजना फेरिँदै रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएका हुन् । उनको यो कदमलाई कतिपय राजनीतिक विश्लेषकले ‘टिकटका लागि विचार त्याग’ को स्पष्ट उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
गत निर्वाचनमा प्रदेशसभा ‘क’ का कृष्ण पौडेल र ‘ख’ का जानकी प्रसाद यादवको बलियो समर्थन पाएका रजौरियाले १३ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए । तर यसपटक भने सो मतसमेत सुरक्षित गर्न कठिन हुने विश्लेषक भैरहेको छ । रास्वपाको प्रभाव निर्वाचन क्षेत्रको उत्तरी भागमा सीमित देखिए पनि दक्षिणी क्षेत्रमा भने उल्लेख्य पकड नरहेको देखिन्छ ।
कृष्णनगर नगरपालिका घर भएका रजौरियाले निर्वाचनको समयमा मात्र काठमाडौंबाट गृह जिल्लामा आउने गरेको आरोप पनि स्थानीयस्तरमा उठिरहेको छ । उनले काठमाडौंमै बसेर पनि नागरिकको सेवा गरेको दाबी गर्दै आए पनि कपिलवस्तुमा उनको प्रत्यक्ष उपस्थिति र ठोस योगदान कति प्रभावकारी रह्यो ? भन्ने प्रश्न जनस्तरबाट उठ्न थालेको छ ।
हिजोसम्म राजतन्त्रको पक्षमा खुलेर बोलेका रजौरियाले अहिले त्यसको ठीक विपरीत धार बोकेको दलबाट उम्मेदवारी दिनु राजनीतिक अवसरवादको संकेत भएको आलोचकहरूको भनाइ छ । निरन्तर दल फेर्दै आएको उनको राजनीतिक यात्राले मतदातामाझ विश्वासको संकट पैदा गरेको टिप्पणी हुन थालेको छ ।








प्रतिक्रिया