२० असार २०८३, शनिबार

प्रतिनिधिसभा निर्वाचन : बाजुराका आठ उम्मेदवारको सामुहिक प्रतिबद्धता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बाजुराबाट उम्मेदवारी बनेका आठ जना उम्मेदारले सामूहिक रुपमा प्रतिबद्धता पत्र जारी गरेका छन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिई शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता जारी गरेका हुन्।

बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै प्रतिस्पर्धालाई मर्यादित र शान्तिपूर्ण बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सामुहिक रुपमा करिब सात बुँदे लिखित प्रतिबद्धता जायर गरिएको छ । बाजुरामा एक स्वतन्त्र सहित ७ दलका प्रतिनिधीहरु चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका नेपाली काँग्रेसका जनकराज गिरी,नेकपा एमालेका लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह,राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर शाही,राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा,प्रगतिशिल लोकतान्त्रिक पार्टीका दीपक डिसी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का भुपेन्द्र वि.क. र स्वतन्त्र उपेन्द्र शाहीले सामुहिक प्रतिवद्धता पत्र जारी गरेका छन् ।

बाजुराका राजनीतिक दल र उम्मेदवारहरूले सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता जनाउनु जिल्लाको चुनावी इतिहासमा सकारात्मक संकेत देखिएको छ । यस अघिका निर्वाचनमा प्रायः प्रतिस्पर्धा तीव्र हुने निर्वाचनमा आपसी द्धन्द्ध, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएकोमा यो प्रतिबद्धताले बाजुराको राजनिती सकारात्मक बाटोमा गएको देखिएको छ ।

उम्मेदवारहरुले बाजुरामा चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएका हुन् । निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठ जस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नुपर्ने बताएका थिए ।

जारी गरिएको सामूहिक प्रतिबद्धता समग्र जिल्लाको राजनीतिक असल अभ्यास भएको भन्दै यसको पूर्ण कार्यान्वयनका गर्नु पर्ने बताउँदै प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सञ्चालन भएका पत्रकार सम्मेलनमा सबै उम्मेदवार, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिको लगायत पत्रकारको सहभागीता रहेको थियो ।