६ कार्तिक २०८३, शुक्रबार

उमेदवार छान्न संसदीय बोर्डको बैठक आजैदेखि बस्छौँ : प्रवक्ता चालिसे

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको खाँचो रहेको जनाएको छ । आज नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट देउवालाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरिएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीमा देउवाले पुर्‍याउने योगदान र नेतृत्वको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय गरिएको जानकारी दिए । उनले आउँदा दिनमा पार्टीलाई देउवाको अभिभावकीय भूमिका निरन्तर रहिरहने विश्वास गरिएको पनि बताए ।

निवर्तमान केन्द्रीय कार्यसमिति र अरू नेतालाई पार्टीको काममा फर्कन समेत बैठकबाट आग्रह गरिएको छ । पार्टीलाई अझ बढी बलियो बनाउन आ–आफ्नो तहबाट महत्त्वपूर्ण योगदान पुर्‍याउन सबैसँग आग्रह गरिएको प्रवक्ता चालिसेले बताए ।

उनले पार्टीले निर्वाचनकेन्द्रित गतिविधि सञ्चालन गर्न लागेको पनि जानकारी दिए । आसन्न आमनिर्वाचनका निम्ति छोटो समय रहेकाले यससम्बन्धी काम गर्न तत्कालै संसदीय बोर्डको बैठक बस्ने उनले बताए । बोर्डको बैठक बसेर उमेदवार छनोटलगायत काम गर्ने उनले जानकारी दिए । उनले पार्टी निर्वाचनमा केन्द्रित भएको पनि बताए ।

“छोटो समयमा धेरै टाढाटाढाका साथीहरूको निर्वाचनसम्बन्धी निर्णय लिनुपर्नेछ । उमेदवार छनोट गर्नुपर्नेछ । पार्टीको संसदीय बोर्डको बैठक हामी तत्कालै आजैदेखि बस्नेछौँ र चाँडोभन्दा चाँडो काम गर्नुपर्ने भएको हुनाले अहिले हामी काममा बढी केन्द्रित छौँ,” उनले भने ।

उनले निर्वाचन आयोगले कांग्रेसको विधान र संविधानानुसार नै आफूहरूलाई मान्यता दिएकाले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गरे । देउवा पक्षका नेताहरूले शनिबार नै बैठक बसी आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका थिए ।