११ कार्तिक २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ । निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो ।

लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेश प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको छ । सङ्घीय गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यस गोष्ठीमा यसपटक आन्तरिक सुरक्षा भन्दा बढी निर्वाचन सुरक्षालाई प्राथमिकता दिइएको छ ।

मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुने स्पष्ट पारे । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याइसकेको छ । साथै, निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि–२०८२ पनि स्वीकृत भई कार्यान्वयनको चरणमा पुगेको छ । सोही योजनाअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाएको जनाएको छ । यस निर्वाचनमा करिब ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजार हाराहारीमा सशस्त्र प्रहरी परिचालन हुनेछन् ।

मतदानस्थल सुरक्षाका लागि नेपाल प्रहरीले देशभरका मतदानस्थललाई जोखिमका आधारमा वर्गीकरण गरेको छ । प्रहरीका अनुसार दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० अति संवेदनशील मतदानस्थलका रूपमा पहिचान गरी सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । सरकारले निर्वाचनलाई प्रभावमुक्त र विश्वसनीय बनाउन सुरक्षा संयन्त्रबीच समन्वय, सूचनाको आदानप्रदान र द्रुत प्रतिक्रिया क्षमतालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।