११ कार्तिक २०८३, बुधबार

प्रवासी नेपाली मञ्चको नेतृत्वका लागि पाण्डे, पोखरेल र थापा आकांक्षी, यसरी हुँदैछ अधिवेशनको तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको साझा संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी (ओएनएफ)को दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको विषयले चर्चा पाउन थालेको छ ।

नेकपा (एमाले) निकट संगठन ओएनएफको यही कात्तिक १८ र १९ गते काठमाडौंमा हुने अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुने भएपछि अध्यक्ष पदका लागि तीन जनाले आकांक्षा देखाएका छन् ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष रमेश पाण्डे पुनः नेतृत्वमा दोहोरिने तयारीमा छन् ।

त्यस्तै, मञ्चका सचिव चानक पोखरेल र सहसचिव प्रभुराम थापा पनि अध्यक्ष पदका आकांक्षीका रूपमा अघि आएका छन् ।

तीनै जना अहिले अधिवेशनको तयारीका लागि काठमाडौं आइसकेका छन् ।

पाण्डे अष्ट्रेलियाबाट, पोखरेल मध्यपूर्वबाट र थापा अमेरिकाबाट प्रतिनिधित्व गर्छन् ।

तीनै जनाले नेतृत्वका लागि तयारी अघि बढाएसँगै अधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया र त्यसका लागि हुने सहमतिलाई चासोका साथ हेरिएको छ ।

अध्यक्ष पदमा तीन जनाको आकांक्षा देखिए पनि नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास भइरहेको बताइएको छ ।

मञ्चका एक पदाधिकारीका अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि एमालेको संगठन विभाग र जनसंगठन समन्वय संयन्त्र सक्रिय रहेको बुझिएको छ ।

नेतृत्वका आकांक्षीहरूबीच सहमति जुटाउने र संगठनलाई एकताबद्ध रूपमा अघि बढाउने उद्देश्यले छलफल भइरहेको बताइएको छ ।

वर्तमान अध्यक्ष पाण्डे यसअघिका अध्यक्ष सञ्जय थापा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मञ्चको नेतृत्वमा आएका हुन् । त्यसयता उनले अन्तर्राष्ट्रिय कमिटीको नेतृत्व सम्हाल्दै आएका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा विश्वका विभिन्न मुलुकबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रवासमा रहेका नेपालीलाई संगठित गर्दै आएको मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई संगठनको आगामी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी रणनीति, प्रवासमा रहेका नेपालीका समस्या र उनीहरूको अधिकारका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । विभिन्न देशमा रहेका राष्ट्रिय कमिटी तथा महादेशीय कमिटीका प्रतिनिधिहरूको सहभागिताले अधिवेशनमा अन्तर्राष्ट्रियस्तरका मुद्दाले प्राथमिकता पाउने मञ्चको अपेक्षा छ ।

अधिवेशनको मूल आयोजक समितिको संयोजकमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे छन् । सहसंयोजकमा कर्ण शाही र सदस्य–सचिवमा चानक पोखरेल रहेका छन् ।

मूल आयोजक समितिले अधिवेशनको तयारी तथा व्यवस्थापनसम्बन्धी काम तीव्र गतिमा बढाइरहेको छ ।

प्रवासी नेपाली मञ्चले विश्वका ३९ देशमा राष्ट्रिय कमिटी गठन गरेको छ । पाँच महादेशमा महादेशीय कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको मञ्चले जनाएको छ ।

विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेकपा (एमाले)का समर्थक तथा सदस्यहरूलाई संगठित गर्ने उद्देश्यले स्थापित मञ्च प्रवासमा क्रियाशील संगठन हो । मञ्चले विदेशमा रहेका नेपालीबीच संगठन विस्तार, आपसी समन्वय र प्रवासी नेपालीका साझा सवालमा पैरवी गर्दै आएको छ ।

विभिन्न देशमा रहेका नेपाली समुदायसँग जोडिएर काम गर्दै आएको मञ्चका लागि अन्तर्राष्ट्रिय अधिवेशन संगठनात्मक अवस्था समीक्षा गर्ने, आगामी प्राथमिकता निर्धारण गर्ने र विश्वभरका कमिटीबीच समन्वय थप प्रभावकारी बनाउने अवसर समेत हुने बताइएको छ ।

मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र प्रवासी नेपालीका साझा समस्या समाधानका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ ।

मञ्चले यसअघि भर्चुअल पत्रकार सम्मेलनमार्फत अधिवेशनमा उठाइने प्रमुख विषयबारे जानकारी गराइसकेको छ । विदेशमा काम गर्ने नेपाली श्रमिकले भोग्नुपरेका समस्या, उनीहरूको अधिकारको संरक्षण तथा विदेशमा रहेका नेपालीको नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषय अधिवेशनका महत्त्वपूर्ण एजेन्डा हुनेछ ।

४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।