३० आश्विन २०८३, शुक्रबार

यु–१६ साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-16काठमाडौँ, १७ साउन । सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको मुख्य प्रशिक्षक उपेन्द्रमान सिंहले तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको छ ।

यही साउन २४ गतेदेखि बङ्गलादेशमा हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले भाग लिएका छन् । उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेकामा नेपाल समूह ‘बी’ परेको छ ।

समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली टोलीमा गोलरक्षक अर्पण कार्की, आकाश रानाभाट, सन्देश गुरुङ छन् । त्यस्तै डिफेन्डरमा रोमन लिम्बू, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, अनोस मगर, सुमन अर्याल र आशिस केसी छन् ।

मिडफिल्डरमा अभिषेक रिजाल, दिवस उरउ कप्तान मनिस कार्की, सेसेहाङ आङ्दाङ्वे, अनिल मर्हजन, विकास आले छन् भने फरवार्डमा राजिव लोप्चन, रेजिन सुब्बा, दिनेश हेनजन, प्रिजन तामाङ, राजेश परियार र क्षितिजराज जिटी छन् ।

सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो भने सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसिपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।

नेपालले आफ्नो पहिलो खेलअन्तर्गत यही साउन २५ गते माल्दिभसको समाना गर्नेछ । रासस