३० असार २०८३, मंगलबार

काठमाडौं–१ मा जेनजी अगुवा सन्दिप लुँइटेल नेकपाबाट उम्मेदवार सिफारिस

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमाले र कांग्रेसको परम्परागत प्रतिस्पर्धाले चिनिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा नयाँ राजनीतिक चरित्र देखिन थालेको छ ।

जेनजी आन्दोलनका अगुवा लुँइटेललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेसँगै यस क्षेत्रमा ‘जेनजी फैक्टर’ प्रवेश गरेको हो ।

लुँइटेलको सिफारिसलाई पार्टीगत निर्णयभन्दा बढी पुस्तागत राजनीतिक सन्देशका रूपमा लिइएको छ । सडक, क्याम्पस र सामाजिक सञ्जालमा सीमित रहँदै आएको जेनजी आन्दोलन अब प्रत्यक्ष रूपमा संसद प्रवेशको प्रयासमा देखिएको छ, जसले परम्परागत चुनावी बहसलाई चुनौती दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

कोरोना महामारीका बेला सुकुम्बासी बस्तीहरूमा फुड बैंक सञ्चालन गर्दै सामाजिक अभियानमा सक्रिय लुँइटेलले आफूलाई ‘आन्दोलनबाट निस्किएको प्रतिनिधि’का रूपमा प्रस्तुत गर्दै आएका छन् ।

बानेश्वर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर अध्ययन पूरा गरेका उनी युवा पुस्तालाई नीतिनिर्माणको केन्द्रमा पु¥याउने एजेन्डा अघि सार्दै चुनावी तयारीमा छन्। जेनजी आन्दोलनका क्रममा शहीद भएका युवाहरूको सपना अधुरो नरहने दाबी गर्दै उनले चुनावलाई केवल जित–हारको प्रतिस्पर्धा नभई पुस्तागत हस्तान्तरणको लडाइँका रूपमा व्याख्या गरेका छन्।

उनको सिफारिस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र प्रश्न दुवै देखिएका छन्। समर्थकहरूले यसलाई युवाको आवाजलाई औपचारिक राजनीतिमा प्रवेश गराउने अवसर मानेका छन् भने आलोचकहरूले आन्दोलनको उत्साह मतमा रूपान्तरण हुने–नहुने विषय उठाएका छन्।

पत्रकारसमेत रहेका लुँइटेल हाल हिमालय टाइम्स नेपाली राष्ट्रिय दैनिकमा कार्यरत छन्। यसले उनको उम्मेदवारीलाई राजनीतिक मात्र नभई सञ्चार प्रभावको दृष्टिले पनि अर्थपूर्ण बनाएको छ।

यसै क्षेत्रबाट नेकपाले विराज थापा, रेवती प्रसाद दाहाल र मेनका भण्डारीलाई पनि सिफारिस गरेकाले अन्तिम निर्णयले पार्टीको प्राथमिकता र रणनीति स्पष्ट हुने देखिन्छ।