
काठमाडौं, २३ कात्तिक । काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत चयन भएपनि अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा घिमिरे, उपाध्यक्षमा हरि ज्ञवाली, सचिवमा कालीप्रसाद रिमाल, सहसचिवमा मिलन तमखु र कोषाध्यक्षमा चन्द्रलाल राई रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा केशवराज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहेका छन् ।
काठमाडौं फोटोग्राफर संघको विधान अनुसार नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको कायम रहनेछ ।
अध्यक्षमा चयन भएपछि घिमिरेले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफर साथीहरुले गर्व गर्न लायक काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा फोटोग्राफर साथीहरुलाई नयाँ प्रविधिमैत्री बनाउन समय सापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने बताए ।
त्यसैगरी, उनले संस्थामा आबद्ध फोटोग्राफरहरूको सामूहिक बीमा गर्ने प्रतिबद्धता गर्नुका साथै आफैले सुरु गरेको केपीए वेडिङ फोटोग्राफर अवार्डलाई निरन्तरता दिने, नेपालमा फोटोग्राफीसम्बन्धी एक्स्पो गर्न पहल गर्ने, फोटोग्राफरहरूको क्षमतालाई आधिकारिकता प्रदान गर्न सरकारी निकाय सिटिइभिटिबाट फोटोग्राफरहरूको स्किल टेस्ट (सिप परीक्षण) गर्ने प्रक्रियालाई पूर्णता दिने जस्ता फोटोग्राफरको हक हितमा काम गर्ने बताए ।








प्रतिक्रिया