काठमाडौं, २९ जेठ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि महिलालाई हेर्ने सोचमा परिर्वतन आउन नसकेको भनी विभिन्न क्षेत्रमा कार्यरत महिलाले गुनासो गरेका छन् ।
महिला अध्ययन केन्द्रले राजधानीमा आज आयोजित कार्यक्रममा पूर्वसचिव बिन्द्रा हाडाले मुलुकमा परिवर्तन आएर कानुनी रुपमा महिलाका पक्षमा केही कानुन बने पनि महिलालाई हेर्ने मानसिकतामा परिवर्तन नआएको बताइन् । उनले आफ्नो कार्यकालमा पनि अनावश्यक रुपमा राजनीतिक हस्तक्षेप सहनुपरेको र महिलालाई अझै पनि दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने परिपार्टीको अन्त्य नभएको गुनासो गरिन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्वअध्यक्ष हीरा नेपालले समाजमा विभेद, हिंसा, आमाको नामबाट नागरिकता पाउनेजस्ता कुरामा अझै पनि समस्या रहेको बताए । उनले कानुनद्वारा प्रत्याभूत विषय पनि कार्यान्वयन हुन नसक्दा पहिलाका समस्या यथावत् रहेको बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्वअध्यक्ष रामकुमारी झाँक्रीले निजामती सेवालगायत क्षेत्रमा महिलालाई आरक्षण पाएर जाँदा पनि कमजोर सोच्ने परिपाटी भएको बताइन् ।
महिला सुरक्षा दबाबका अध्यक्ष शारदा पोखरेलले पदीय जिम्मेवारीमा रहेका महिलाले काम गर्ने वातावरण अझै पनि सहज नभएको र तिनलाई हेर्ने दृष्टिकोणमा तल्लो निकायदेखि माथिल्लो निकायसम्म नै नकारात्मक भएको विचार व्यक्त गरिन् ।















प्रतिक्रिया