नेपालगञ्ज, ८ साउन । नेपाल-भारत सीमामा भाारतीय सशस्त्र सीमा बल (एसएसबी)ले एक नेपालीको निर्ममता पूर्वक हत्या गरेको छ ।
बर्दियाको जमुनी सीमानामा कालीकोट चिलखायका २७ वार्षिय खड्कबहादुर शाहीलाई मूर्ति चोरेको निहुँमा एसएसबीले हत्या गरेको हो । हत्यापछि शाहीसँग रहेका अन्य चार जना नेपालीलाई पनि एसएसबीले पक्राउ गरेको छ ।
बुधवार अपराह्नको समयमा शाहीलाई एसएसबीले निर्ममतापूर्वक कुटेर हत्या गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताए । प्रत्यक्षदर्शीले कुटीकुटी हत्या गरेको जानकारी दिएको उनले बताए । तर, एसएसबीले भने भाग्दा नालीमा परेर मृत्यु भएको बताएको कुँवरले जानकारी दिए ।
बर्दियाको जमुनी बलैगाउँ नाका भएर भारत लाने क्रममा दुईवटा ढुंगाका मूर्तिसहित चार नेपालीलाई पक्राउ गरिएको एसएसबीले बताएको छ । उसले नियन्त्रण लिने क्रममा एक जनाको नालीमा परेमो मृत्यु भनेको समेत उल्लेख गरेको छ ।
घटनाबारे थप बुझ्नका लागि प्रहरी उपरीक्षक गोविन्दराम परियारको टोली बहराइच गएको प्रजिअ कुँवरले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा कालिकोट चिलखायका लोकबहादुर शाही, टेकबहादुर शाही, तीर्थबहादुर शाही र अनिल शाही रहेको एसएसबीले जानकारी दिएको छ । सुर्खेतका राजेश शाही भने भाग्न सफल भएको उसले बताएको बर्दियाका प्रजिअ कुँवरले जानकारी दिए ।
पक्राउ परेकाहरुले गत असार २७ गते कालीकोट स्थित कालिकादेवी मन्दिरबाट तीनवटा ढुंगाका मूर्ति चोरेर भागेको बयान दिएको समेत एसएसवीले बर्दिया प्रशासनलाई जानकारी दिएको छ ।
















प्रतिक्रिया