८ कार्तिक २०८३, आइतबार

चीन भ्रमणबाट स्वदेश फर्किए किम जोङ उन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

स्वदेश फर्कनुअघि उनले चीनको दान्दोङ (डानडोङ)स्थित कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुलको उद्घाटन गरे ।

चीनले यालु नदीमाथि करिब दुई माइल लामो पुल निर्माण गर्न ३० करोड डलरभन्दा बढी खर्च गरेको थियो, तर उत्तर कोरियाले सो पुलसँग सम्बन्धित पूर्वाधार परियोजनाहरू पूरा नगरेका कारण उक्त पुल एक दशकभन्दा बढी समयसम्म प्रयोगविहीन बनेको थियो ।

प्योङयाङले हालै आवश्यक सडकहरू, भन्सार पूर्वाधारहरू र अन्य स्तरोन्नतिसम्बन्धी कामहरू पूरा गरी यो चार लेनको पुल सञ्चालनमा ल्याएको हो ।

किमले उत्तर कोरियाको अन्तर्राष्ट्रिय व्यापारका लागि मुख्य प्रवेशद्वार मानिने चीनको सीमावर्ती सहर दान्दोङमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो स्थायी समितिका सदस्य वाङ हुनिङको नेतृत्वमा रहेका अधिकारीहरूसँग भेटवार्ता गरे ।

बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ उपस्थित थिएनन् ।

भ्रमणका क्रममा किमले दान्दोङको बस निर्माण कारखानाको अवलोकन पनि गरेका थिए ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएअनुसार, किमले बेइजिङ र प्योङयाङबीचको मित्रतालाई अजेय (कहिल्यै पराजित गर्न नसकिने) भनी वर्णन गरे र उनले यो मित्रता दुवै राष्ट्रको साझा युद्धकालीन इतिहासमा जरा गाडेर रहेको पनि बताए ।

उत्तर कोरियाले रुससँगको आफ्नो सैन्य तथा कूटनीतिक सहकार्यलाई अझ गहिरो बनाउँदै लगेका बेला चीनले प्योङयाङमाथि आफ्नो प्रभाव सुदृढ पार्ने प्रयास गरिरहेको छ ।

बेइजिङ र प्योङयाङले हालै आफ्ना राजधानीहरूका बीच यात्रुवाहक रेल सेवा पुनः सञ्चालनमा ल्याएको छ, साथै द्विपक्षीय व्यापार पनि कोभिड महामारीपूर्वको स्तरमा फर्किएको छ ।

किमको यो भ्रमण दुई देशबीच कूटनीतिक तथा आर्थिक सम्बन्ध सुदृढ हुँदै गइरहेको पृष्ठभूमिमा भएको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ ।

किमको यो यात्रा यस वर्षको उनको पहिलो विदेश भ्रमण थियो । यसअघि किम सन् २०२५ मा बेइजिङमा आयोजित एक सैन्य परेडमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै देखिएका थिए । एजेन्सीको सहयोगमा