८ कार्तिक २०८३, आइतबार

नेपालतर्फ ल्याउँदै गरेको ४ करोड भारुको स्मैकसहित २ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय मिश्रा

रौतहट । भारतको बिहारस्थित रक्सौलमा नेपालतर्फ तस्करी गरी लैजान लागिएको करिब ४ करोड भारतीय रुपैयाँ बराबरको स्मैक (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन् ।

भारतको पूर्वी चम्पारण जिल्लाअन्तर्गत रक्सौलस्थित लक्ष्मीपुर चेकपोस्ट नजिक प्रहरीले शनिबार अपराह्न छापा मारी १ किलो ८०६ ग्राम लागूऔषध बरामद गरेको हो । लागूऔषध तस्करीविरुद्धको विशेष कार्यदल (एसटीएफ) र प्रहरीको संयुक्त टोलीले गरेको उक्त कारबाहीमा तस्करीमा प्रयोग गरिएको स्कोर्पियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रक्सौल निवासी रमेश कुमार र पलनवा थाना क्षेत्रको बहुअर्वा निवासी सन्दीप कुमार रहेका छन् ।

मोतीहारीका प्रहरी उपरीक्षक (एसपी) स्वर्ण प्रभातलाई गोरखपुरबाट स्कोर्पियो गाडीमा ठूलो परिमाणमा स्मैक ल्याई रक्सौल हुँदै नेपालतर्फ लैजान लागिएको विशेष गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा उनले मोतीहारी र रक्सौलबाट संयुक्त प्रहरी टोली परिचालन गरेका थिए ।

प्रहरीले कारबाहीका क्रममा लागूऔषधका साथै स्कोर्पियो गाडी, दुई थान मोबाइल र सुनजस्तो देखिने धातुको एउटा लकेट समेत बरामद गरेको छ । बरामद गरिएको लागूऔषधको अनुमानित बजार मूल्य करिब ४ करोड भारतीय रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पक्राउ परेका सन्दीप कुमार यसअघि पनि रक्सौल थाना क्षेत्रमा दर्ता भएको लागूऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको खुलेको छ । यस घटनासम्बन्धी प्राथमिकी (एफआइआर) दर्ता गरी थप अनुसन्धान अघाइएको छ ।

बरामद गरिएको लागूऔषध कहाँबाट ल्याइएको थियो, नेपालमा कसलाई र कहाँ पुर्‍याउने योजना थियो तथा यस कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।

उक्त कारबाहीको नेतृत्व अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्दले गरेका थिए । टोलीमा प्रखण्ड कृषि पदाधिकारी गौतम कुमार, प्रहरी निरीक्षक निर्भयकुमार राय, रक्सौल थाना प्रमुख रमेशकुमार महतोसहितका सुरक्षाकर्मी, एसटीएफ मोतीहारीको टोली तथा सशस्त्र सीमा बलका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

मोतीहारीका एसपी स्वर्ण प्रभातको नेतृत्वमा यसअघि पनि जिल्लाका विभिन्न स्थानमा लागूऔषधविरुद्ध कडा कारबाही चलाइएको भारतीय प्रहरीले जनाएको छ । प्राप्त विवरणअनुसार विभिन्न समयमा गरिएको कारबाहीमा ६४ करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यका लागूऔषध बरामद गरिनुका साथै कारोबारमा संलग्न एक सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि भारतीय सुरक्षा निकायले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको प्रस्ट पार्छ ।