८ कार्तिक २०८३, आइतबार

मनै लोभ्याउने रारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । प्रकृति भित्रै पनि स्वर्ग भेटिन्छ । मनमा कौतुहलता र आश्चार्य लाग्छ सक्छ । यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ । प्रकृतिभित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने उदाहरण हो, मुगुस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल ।

प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम । जो निकै अद्भुत र अलौलिक छ । धर्तिमै भेटिएको प्रकृतिको स्वर्ग हो रारा । नीलो आकाश सरह पानी, वरपर कोणधारी वन, टाढा देखिने हिमश्रृंखला, हरियालीको शितलता र पर्यटक आकर्षकको केन्द्र।रारा आफैमा सौभाग्वती छ ।

नीलो आकाशको छाया, कञ्चन पानीमा प्रतिबिम्बित पहाड,चारैतिर फैलिएको हरियाली र मनलाई स्पर्श गर्ने शान्त वातावरण । प्रकृतिका यी अनुपम दृश्यले सजिएको रारा ताललाई नियाल्दा आभास हुन्छ– ‘जति हेरे पनि धित नमर्ने ठाउँ । शब्दमा जति बयान वर्णन गरेपनि अपूरो रहने सौन्दर्यको स्वर्ग रारा’

समुन्द्री सतहदेखि २ हजार ९ सय ९० मिटरको उचाइमा अवस्थित यो ताल एक स्वर्गको टुक्रा हो । नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल । जसको सुन्दरताको जति बयान गरेपनि कमै हुन्छ । धर्तीको स्वर्ग कुनै अप्सराभन्दा कम छैन । त्यसैले भनिएको होला रारालाई ‘स्वर्गकी अप्सरा ’।

घामका किरणसँग लुकामारी खेल्दै स्वच्छता र शितलता दिने रारा साँच्चिकै प्रकृति कति सुन्दर छ,भन्ने एउटा गतिलो उदाहरण हो । राष्ट्रिय निकुञ्ज भित्र नीलो पानीले घेरिएको यो ताल हेर्दा चाहे कसैका आँखा थाक्दैनन् होला । लाग्छ,यो धर्तिमा ‘स्वर्ग कहिँ छ भने यही छ ।’

गाढा नीलो पानीले भरिएको ताल । रुप फेरिरहने, शान्त वातावरण, नीलो आकाश, र तालको छालसँग देखिने प्राकृतिक सौन्दर्यले सबैलाई मोहित पार्छ । तालको किनारमा फैलिएको घना वनजंगल र पृष्ठभूमिमा देखिने हिउँले ढाकेका हिमालले राराको सौन्दर्यतालाई थप जीवन्त बनाउँछ । घुमन्तेहरुका लागी सपनाको गन्तव्य हो, रारा ।

अनुपम उपहारले सजिएको रारा । यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ । तालको नीलो पानीमा प्रतिबिम्बित पहाड र आकाशले यहाँको सौन्दर्यतालाई झनै मनमोहक बनाउँछ । लाग्छ, प्रकृतिले आफ्ना सम्पूर्ण सुन्दरता एकै ठाउँमा सुम्पिएको छ । रारा केवल घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन्,यो अनुभव र अनुभूति साटासाट गर्ने माध्यम पनि हो ।

राराका आकर्षण

रारा नेपालको भर्जिन क्षेत्र हो । एउटा साहसिक यात्राको गन्तव्य पनि हो । यो ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको नीलो पानी, वरपरको कोणधारी वनजंगल र सुन्दरता नै यहाँका मुख्य आकर्षक हुन् ।

त्यस्तै, ४ हजार मिटर माथिको मुर्माटप यहाँको अर्काे आकर्षकको केन्द्र हो । जहाँबाट पुरै तालको दृश्य नियाल्न सकिन्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित पार्छ तालमा बोटिङ गर्दाको क्षण । तालको छेउमा टेन्टमा रात बिताउनुको आनन्द नै यहाँका मुख्य आकर्षक हुन् ।

त्यति मात्र होइन्, यहाँबाट फर्किदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकारहरुले पर्यटकको ध्यान अझै तान्छ । राष्ट्रिय निकुञ्जभित्र रहेका रेड पाण्डा, कस्तुरी मृग, हिमाली कालो भालु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी यहाँका गहना हुन् ।

ऋतुअनुसार बदलिने प्राकृतिक रङ, वसन्तमा फुल्ने फूल, शरदमा खुल्ने नीलो आकाश र हिउँदमा देखिने हिउँ । स्थानीय संस्कृति र जनजीवन, मुगाली समुदायको मौलिक संस्कृति, परम्परा, खानपान र स्थानीय जीवनशैली यहाँका आकर्षक हुन् । यीनिहरुले रारालाई थप जीवन्त बनाएर राखेका छन् । 

नीलो पानीमा प्रकृतिको प्रतिबिम्ब

राराको सबैभन्दा ठूलो विशेषता यसको अनुपम प्राकृतिक बनावट हो । नीलो पानीमा देखिने प्रकृतिको प्रतिबिम्बले सबैको ध्यान केन्द्रित गर्छ । नीलो पानीमा देखिन्छन्, दन्तपङ्ती हिमाल, वरपरको वनजंगल ।  लाग्छ– सायद पानीभित्र पनि अर्काे सुनौलो प्रकृतिको संसार छ । 

विशाल तालले ओड्छ नीलो कपडा । हिमालको मुस्कानले ताल सधैं हाँसिरहन्छ । टिमिक्क नौरङ्गे सारीमा उनिएकी सुन्दर अप्सरा जस्तैः देखिन्छ रारा । सुन्दर दृश्य क्यामेरामा कैद गर्न खोज्ने र मनलाई शान्त बनाउन चाहनेको लागी विशेष गन्तव्य । तालको पानीभित्र रमाईरहेका विश्वमा अन्यत्र नपाइने ‘स्नो ट्राउट’ माछा ।

यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य । संसारमै नीलो पानीको ताल । लम्बाई ५.२ किमी, चौडाइ २.७ किमी,गहिराइ १६७ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको यो ताल सुन्दरताको खानी । रारा केवल घुम्ने गन्तव्य होइन्, यो प्रकृतिले उपहारस्वरुप प्रदान गरेको सुन्दर मायाको चिनो हो ।

जैविक विविधता

भनिन्छ,‘रारा पुग्ने जोसुकैलाई स्वर्गमा पुगेको आभास हुन्छ । त्यसैले ढुङ्गाको मन भएकाहरुले पनि यो ठाउँमा पुगेपछि रमाउने र विभिन्न रचनाहरु फुराउने गर्छन्’ रारा एउटा त्यस्तो गन्तव्य हो, जहाँ आनन्द मात्र होइन्, जीवनमा मिल्न नसकेको हाँसो र खुसी मिल्छ । 

नेपालमा रहेका ८६७ प्रजातिका चराहरूमध्ये रारामा २३६ प्रजातिका पाइन्छन् । आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ । जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरूसँग रमाउने रारा निकै सुन्दर देखिन्छ । अझ भनौँ तालको शोभा निकुञ्जमा पाइने विभिन्न जनावर र चराचुरुङ्गीले दिएका हुन्छन् ।

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो, कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवा लगायत वन्यजन्तु अवलोकनका लागि रारा क्षेत्र महत्वपूर्ण मानिँदै आएको छ । जैविक विविधतामा धनी राराले वर्षेनी लाखौंको संख्यामा पर्यटकहरु भित्र्याउने गरेको छ।

पर्यटकीय सम्भावना

राराको पर्यटकीय सम्भावनाको वर्णन गरी कुनै साध्य छैन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको रारालाई नेपाल सरकारले अझै ध्यान दिन सकेको खण्डमा पर्यटकको संख्यामा वृद्धिका साथै स्थानीय स्तरमा रोजगारीमा अवसर सिर्जना गर्न सकिने सम्भावना छ ।

यो प्राकृतिक सौन्दर्यको केन्द्र मात्रै नभई कर्णाली प्रदेशको पर्यटन विकासको महत्त्वपूर्ण आधार समेत हो । यसको प्रचार–प्रसार र व्यवस्थित विकासले मुगु जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्न सक्छ । यहाँ आउने पर्यटकले प्राकृतिक दृश्यावलोकन, पदयात्रा, फोटोग्राफी तथा स्थानीय संस्कृति र रहनसहनको अनुभव लिन सक्छन् ।

पर्यटकको आवागमन बढ्दै जाँदा स्थानीय होटल, होमस्टे, यातायात, कृषि उत्पादन र हस्तकलासँग सम्बन्धित व्यवसायले समेत लाभ लिनसक्ने प्रचुर सम्भावना छ । यद्यपि राराको पर्यटन विकासलाई केवल पर्यटकको संख्यासँग जोडेर हेर्नू पर्याप्त नहुन सक्छ । पर्यटकीय पूर्वाधारको विकास, सहज यातायात, प्रभावकारी सञ्चार र प्रचारप्रचार गर्न सके पर्यटकिय सम्भावना निकै बलियो देखिन्छ ।

योजनाबद्ध ढंगले पर्यटन, प्रवद्र्धन गर्न सके राराले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान दिन सक्छ । यस क्षेत्रको सौन्दर्य जति आकर्षक छ, यसको संरक्षणमा समेत त्यति नै महत्त्वपूर्ण छ । पर्यटकको चाप बढ्दै जाँदा फोहर व्यवस्थापन, तालको स्वच्छता, वनजंगल संरक्षण र जैविक विविधताको सुरक्षामा ध्यान दिन आवश्यक देखिन्छ ।

प्रचुर सम्भावना बोकेको रारालाई सबै क्षेत्रबाट अझै व्यवस्थित गर्नुका साथै स्थानीय समुदाय,सरकार र पर्यटन व्यवसायीबीच सहकार्य हुन सके राराको मौलिकता जोगाउँदै पर्यटनलाई दिगो बनाउन सकिनेछ।अथाह सम्भावना वोकेको रारा नेपालको बहुमूल्य गहना हो ।

रारा कर्णालीको गौरव, नेपालको पहिचान

रारा ताल मुगु जिल्लाको गौरव मात्र होइन्, यो सिंगो नेपालको पहिचान हो । साथै, प्राकृतिक पहिचानलाई विश्वसामु चिनाउने महत्त्वपूर्ण सम्पदा हो । कर्णाली हरेक सम्भावनाले भरिपूर्ण क्षेत्र हो ।

रारा प्रकृतिले दिएको अनुपम उपहार हो, ‘जहाँ नीलो पानीले मन लोभ्याउँछ । हरियालीले शीतलता दिन्छ । शान्त वातावरणले मन आनन्दित बनाउँछ । प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम बनेको रारा केवल घुम्ने गन्तव्य होइन्, प्रकृतिलाई माया गर्न र यसको संरक्षणको महत्त्व बुझ्न प्रेरित गर्ने सुन्दर धरोहर पनि हो । सुन्दर प्रकृतिभित्रको स्वर्ग यही हो– रारा ।

तस्वीरहरु/ गोविन्द्रराज तिमिल्सेना