८ कार्तिक २०८३, आइतबार

सेती अञ्चल अस्पतालमा सटर भाडा विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ८ साउन । यहाँस्थित सेती अञ्चल अस्पतालको स्वामित्वमा रहेका व्यापारिक सटर पुनः टेन्डरको प्रक्रियाबाट भाडामा दिने तयारी गरिएपछि सटर भाडामा लिई बसेका व्यापारी विरोधमा उत्रिएका छन् ।

टेन्डर प्रक्रियाद्वारा वर्षौंदेखि सटर भाडामा लिई व्यापार व्यवसाय गरिरहेका व्यापारीले बजारको वर्तमान मूल्य स्थिति हेरी भाडादर समायोजन गर्न गरेको अनुरोध अस्पताल विकास समितिले सम्बोधन नगरी पुनःटेन्डरमा जाने निर्णय गरेपछि आफूहरुको रोजीरोटी गुम्ने भन्दै विरोधमा उत्रिएका हुन् ।

पुनःटेन्डरमा जाने निर्णयले व्यापार व्यवसाय गरिरहेका अस्पतालका २७ वटा सटरका करिब २०० व्यक्तिको रोजगारी गुम्न लागेको एक व्यापारी लालबहादुर खत्रीले गुनासो गर्नुभयो ।

टेन्डर प्रक्रियाद्वारा भाडामा दिँदा गरिएको सम्झौतामा प्रत्येक दुई वर्षमा दश प्रतिशत भाडादर वृद्धि हुने व्यवस्था उल्लेख गरिएको भए पनि गएको माघ महिनामा आफूहरुसँग कुनै छलफल एवम् समन्वय नै नगरी विकास समितिले सटरको पुनःटेन्डर गर्ने निर्णय गरेको व्यापारीले बताएका छन् ।

व्यापारीले विरोध स्वरुप भाडामा लिइएका सबै सटर पाँच दिनदेखि बन्द गरी धर्ना दिइरहेका छन् । जसका कारण सटरमा सञ्चालनमा रहेका निजी स्वास्थ्य क्लिनिकमा उपचारका लागि आउने बिरामीको उपचार सेवा पनि प्रभावित भएको छ ।
यी सटरबाट कम्तीमा रु चार हजार २५० देखि बढीमा रु२३ हजार भाडा अस्पताललाई प्राप्त हुँदै आएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष यज्ञराज पाण्डेयले सटरको भाडादर वैज्ञानिक बनाउन अस्पतालका लेखा अधिकृतको संयोजकत्वमा गएको माघ महिनामा गठन गरिएको समितिले दिएको सुझाव र मन्त्रालयको परिपत्रअनुसार सटरको पुनःटेन्डर गरी भाडामा लगाउने तयारी गरिएको जानकारी दिनुभयो । रासस