त्रिपुराकोट (डोल्पा), ७ साउन । बिरामी परेकाबेला सामान्य सिटामोलसमेत नपाएर अकालमै ज्यान गुमाउने डोल्पालीमा खुसियाली छाएको छ ।
डोल्पाको एकमात्र सरकारी जिल्ला अस्पतालमा पहिलोपटक शल्यक्रिया सेवा सुचारु भएपछि डोल्पाली सर्वसाधारणमा खुसियाली छाएको हो । गतसातासम्म सामान्य बिरामी पर्दा तथा सामान्य चेकजाँचका लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट डोल्पालीले छुटकारा पाएका छन् ।
स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा एक हप्ताअघि वरिष्ठ डाक्टर निरेश थापासहितको चारजनाको टोलीले विशेष स्वास्थ्य सेवा दिइरहेको छ । आएको एकहप्ता नपुग्दै चारवटा सल्यक्रिया गरिसकेको डाक्टर निरेश थापाले बताउनुभयो ।
एपेन्डिसाइट्सि, नसा च्यापिएको तथा उल्टो अवस्थामा रहेको पेटको बच्चालाई समेत सफल रुपमा शल्यक्रिया गरी आमाबच्चा दुवैको ज्यान बचाउन सफल भएको समेत उहाँले बताउनुभयो ।
योभन्दा अगाडि शल्याक्रियाका लागि जिल्ला बाहिर नजानुको विकल्पै नरहेको स्थानीयवासी ईश्वरीप्रसाद देवकोटाले बताउनुभयो ।
डोल्पाजस्तो ठाउँमा शल्यक्रिया गर्ने काम आफँैमा चुनौतीपूर्ण रहेतापनि सबैको सहयोगमा पहिलोपटक शल्यक्रिया गर्न सफल भएको समेत थापाले बताउनुभयो ।
तीन महिनाका लागिमात्र डोल्पा आएको उक्त टोली असोजमा फर्कने र अर्को टोली लगत्तै सेवा सञ्चालन गर्नका लागि आउनेसमेत बताइएको छ । रासस















प्रतिक्रिया